माधव नेपाललाई कारबाहीका लागि आधिकारिक पत्र आएको छैन : रौतहट प्रहरी

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय रौतहटले माधवकुमार नेपाललाई कारबाहीका लागि अहिलेसम्म आधिकारिक पत्र नआएको बताएको छ । रौतहटमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काटेको कुरा बाहिर आएको थियो ।  नेपालले रौतहटका युवालाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउने प्रलोभन दिएको भन्दै निर्वाचन आयोगले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले अहिलेसम्म निर्वाचन आयोगको आधिकारिक पत्र नआएको बताएका छन् । उनले आयोगको आधिकारिक पत्र आएपछि कस्तो प्रकारको कारबाही हुने भन्ने विषयमा आफूहरूले छलफल गरेर अगाडि बढ्ने बताए ।

नेपालले आफू चुनाव जिते ‘विनाढेउवा के भिसा मिली, विनाढेउवा के टिकट मिली, विनाढेउवाके काठमाडौ‌ंमे रहेका घरके  तालिम मिली’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको र उक्त अभिव्यक्ति नेपालको भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बिहीबार आयोगले उल्लेख गरेको थियो । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभलालच देखाउन नपाइने व्यवस्था छ । ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीत काम गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

आयोगले पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनसम्मुखमा युवाहरूलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाएकाे सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई लेखेको पत्र सामाजिक सञ्जालमा छरपस्ट भएको थियो । शुक्रबार १० बजेसम्म आयोगको आधिकारिक पत्र आफ्नो कार्यालयमा आइनसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सुझावित समाचार