कञ्चनपुर- ३ मा कांग्रेसका लेखक र एमाले नेतृ पालबीच टक्कर

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर ३ मा सत्तागठबन्धनका तर्फबाट  कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखक र  विपक्षी गठबन्धनका तर्फबाट एमाले नेतृ निरुदेवी पालबीच टक्कर हुने भएको छ । 

सत्तागठबन्धनको तर्फबाट लेखकसँग प्रदेश ३ (क)मा माओवादी केन्द्रीय सदस्य टेकेन्द्रप्रसाद भट्ट र ३ (ख)मा कांग्रेस प्रभावशाली नेता बेलबहादुरले उम्मेदवारी दिएका छन् । यसैगरी विपक्षी गठबन्धनका तर्फबाट पालसंग ३ (क)मा राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशी र ३ (ख)मा एमाले जिल्ला अध्यक्ष एवं चर्चित नेता सुरेन्द्र विष्टले उम्मेदवारी दिएका छन् ।

दुई ठूला राजनीतिक दल कांग्रेस, एमालेसँग अन्य चार–चार दलले गठबन्धन गरेसँगै दुवै उम्मेदवारबीच यहाँ कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तागठबन्धनका तर्फबाट कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र विपक्षी गठबन्धनका तर्फबाट एमाले, जसपा, बिपी कांग्रेस, कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच चुनावी गठबन्धन भएको छ । तर, कञ्चनपुर क्षेत्र ३ मा सत्तागठबन्धनको तर्फबाट (कांग्रेस–माओवादी) र विपक्षी गठबन्धनका तर्फबाट (एमाले–राप्रपा) बीच गठबन्धन भएको छ । 

यसपटक गरेर कांग्रेस नेता लेखक चारपटक र एमाले नेतृ पाल दुईपटक यस निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन् । लेखक ०५६, ०७०, ०७४ र अहिले ०७९ गरेर चारपटक चुनावी मैदानमा उत्रिएका छन् ।  एमाले नेतृ पाल ०६५ को उपनिर्वाचन र अहिले गरेर दुईपटक प्रत्यक्ष चुनावी मैदानमा होमिएकी छिन् । लेखक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् भने  पाल एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता हुन् । 

०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवार रमेश लेखक झिनोमतले पराजित भएका थिए । लेखक कांग्रेसका तर्फबाट एक्लै चुनावमा होमिँदा २६ हजार एक सय ६ र वाम गठबन्धनका तर्फबाट एमाले नेता डा. दीपकप्रकाश भट्टले २६ हजार तीन सय ६४ मतले निर्वाचित भएका थिए । 

दुई पालिका रहेको क्षेत्र नम्बर ३ मा एक पालिका कांग्रेस र एक एमालेले जितेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कांग्रेस २२ हजार ५८, एमाले १५ हजार आठ सय १६, माओवादी सात हजार आठ सय ८३, समाजवादी दुई हजार पाँच सय, राप्रपा ६ हजार दुई सय ८० र अन्य दुई हजार चार सय मत ल्याएका थिए ।  स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले ३८ हजार चार सय १६ मत र विपक्षी गठबन्धनले २३ हजार दुई सय ७१ मत ल्याएका थिए । 

स्थानीय तहको निर्वाचनको मतभारअनुरुप सत्तागठबन्धन क्षेत्र नम्बर ३ मा बलियो देखिए पनि यहाँकाे चुनाव राेचक हुने देखिन्छ । यस क्षेत्रमा ९७ हजार आठ सय २२ मतदाता रहेका छन् । 

सुझावित समाचार