बैंकले ब्याज वृद्धि तत्काल रोक्नुपर्छ : गृहमन्त्री

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले बैंकले जथाभावी ब्याज वृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै तत्काल रोक्नुपर्ने बताएका छन्।

उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरूले ब्याज वृद्धि गरिरहे आवश्यक ऐन–कानुन संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने खाणले बताए। 

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य खाणले बिहीबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पाँचदलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै तत्काल ब्याज वृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे।

‘ब्याज वृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक सञ्चालकको ध्यान जान जरुरी छ,’ उनले भने।

मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र धराशयी भए यसले नराम्रो असर गर्ने जनाउँदै खाणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई यसतर्फ ध्यान दिन सुझाव दिए।

‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज वृद्धि रोक्न भनेको छु,’ उनले भने, ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन। तर, ब्याज वृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ।’

उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनको वातावरण बनाउने, शान्ति सुरक्षा दिने, नियमन गर्ने, प्रवर्धन गर्ने र निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्व भएको भन्दै गृहमन्त्री खाणले पछिल्ला घटनाक्रमसँग सरकार जानकार रहेको बताए।

‘हामी उद्योगी–व्यवसायी र सबै नेपालीहरूको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौँ,’ उनले भने, ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौँ। यो अवस्थालाई सुधार गरेरै छाड्छौँ।’

गृहमन्त्री खाणले अहिलेको अवस्थालाई सुधार गर्न मौद्रिक नीतिमा सुधार गर्ने बताए। ‘हामीले मौद्रिक नीतिलाई सुधार मात्रै होइन, परिमार्जन गर्नेछौँ, आवश्यक परे संशोधन पनि गर्नेछौँ,’ उनले भने, ‘त्यसैले मैले देशभर छरिएर रहेका उद्योगी–व्यवसायीलाई यो सरकार तपाईंहरूको पक्षमा छ, तपाईंहरूको समस्यालाई हल गर्न तयार छ भन्न चाहन्छु।’ 
 

सुझावित समाचार