नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको सेपाकताक्रो खेलमा नेपाली सेनाले पाँच स्वर्ण जितेको छ। सेपाकताक्रोमा क्वार्ड महिला, रेगु पुरुष, रेगु महिला, डबल भेट्रान्स महिला र डबल भेट्रान्स पुरुषमा गरी सेनाले पाँच स्वर्ण हात पारेको हो।
पुरुष क्वार्डतर्फ भने सेनाले तेस्रो स्थान प्राप्त गरेको छ। बुधबार बिहान रेगु पुरुष र क्वार्ड महिलातर्फको फाइनल खेलहरू भएका थिए। सेनाले क्वार्ड महिलामा बागमतीको टिमलाई २–० को सोझो सेटमा पराजित गर्याे।
रेगु पुरुषतर्फ भने सेनाको टोलीलाई गण्डकी प्रदेशको टोलीले निकै चुनौती दिएको थियो। रेगु पुरुषतर्फको फाइनल खेलमा सेनाले २१–१६, ८–२१ र ९–१५ को सेटमा जित हात पारेको हो।
६ वटा स्वर्ण पदकका लागि भएको सेपाकताक्रोको प्रतिस्पर्धामा बागमती प्रदेशले पुरुष क्वार्डतर्फ स्वर्ण पदक जितेको थियो। पुरुष क्वार्डमा लुम्बिनी प्रदेशको टिम दोस्रो भएको थियो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपुरको कावासोतीमा कुस्ती र सेपाकताक्रो गरी दुई खेल भएका थिए। बुधबार सेपाकताक्रोको फाइनल चरणका खेलहरू सकिएसँगै नवलपुरमा आयोजित दुवै खेल सकिएका छन्। सेपाकताक्रोका विजयी खेलाडीहरूलाई बुधबार नै पुरस्कार वितरण गरिएको छ।