आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रदेश चुनावका लागि कञ्चनपुरमा उद्योगी–व्यवसायी क्षेत्रबाट समेत उम्मेदवार बनेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी निर्वाचन क्षेत्र ३ (क) र बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउद क्षेत्र १ (ख)मा उम्मेदवार बनेका हुन् ।
दुवैजनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यद्यपि, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जोशी कांग्रेस र बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष साउद एमालेबाट बागी उम्मेदवार भएको भन्दै कांग्रेस–एमालेबाट कारबाहीमा परेका छन् । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका साउद एमालेबाट सिफारिस भएका थिए। तर, उनले आधिकारिक टिकट पाएनन् ।
दुवै उम्मेदवारले आफूलाई स्वतन्त्र रूपमा अघि सारेर चुनावी एजेन्डाका साथ मत मागिरहेका छन् । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले दलहरूबाट जनता आक्रान्त भएकाले स्वतन्त्रबाट आफू अघि सरेको बताए । ‘दलबाट जनता हैरान भएका छन्,’ उनले भने, ‘जनचाहनाअनुरूप म स्वतन्त्र रूपमा अघि आएको छु ।’ साउदले क्षेत्रको औद्योगिक विकास, पर्यटन विकास, बेलौरी भन्सार स्तरोन्नतिको एजेन्डा अघि सारेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले दलबाट जनताले अपेक्षाकृत विकास र निकास नपाएकाले आफू प्रदेश सभा सदस्यको उम्मेदवार बनेको बताए । उनले औद्योगिक–व्यावसायिक विकास, रोजगारीदेखि समुन्नत समाजको निर्माणको एजेन्डा अघि सारेका छन् । साउदले लालटिन र जोशीले डल्फिन चुनाव चिह्न लिएर चुनावी प्रचार–प्रसार अभियानमा जुटेका छन् । अध्यक्ष जोशीसँगै कञ्चनपुर उद्योग वाणिज्य संघका तर्फबाट सदस्य गोपाल बुढापालसमेत क्षेत्र ३ (क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका छन् । बुढापाल पनि कांग्रेसनिकट हुन् ।