अमेरिकी किशोरकिशोरी भनिरहेका छन्– समाजमा केही न केही गडबडी छ

सन् २००७ र २०२० को अवधिमा १० देखि २४ वर्ष उमेर समूहमा आत्महत्याको प्रवृत्ति ५६ प्रतिशतले वृद्धि भयो, जुन अत्यन्त चिन्ताजनक विषय हो

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

किन र कसरी भन्ने थाहा नभए पनि हामीलाई आत्महत्या संक्रामक हुन्छ भन्ने धेरै पहिलेदेखि थाहा भएको कुरा हो । न्युयोर्कमा रहेर मनोविश्लेषणको अभ्यासका क्रममा मैले भर्खरै एक १३ वर्षीया किशोरीलाई हेरेँ, जसकी साथीले महामारीमा आत्महत्या गरेपछि उनीमा पनि आत्महत्याको सोच आउन थालेको थियो । स्वभावजन्य रूपमा किशोर–किशोरीहरू आफ्ना साथीबाट सहजै प्रभावित हुन्छन् । यस उमेरका व्यक्तिले साथीसंगीलाई ‘स्व’ अर्थात् आफूकै विस्तारको रूपमा बुझ्ने गर्छन् ।  

सन् २००७ र २०२० को बीचमा १० देखि २४ वर्ष उमेर समूहको आत्महत्याको प्रवृत्तिमा ५६ प्रतिशतको वृद्धि चिन्ताजनक विषय हो । मैले माथि उल्लेख गरेको १३ वर्षीय किशोरीमा (जसको पहिचान गोप्य राख्न उनको नामको पहिलो अक्षर ‘बी’बाट सम्बोधन गरिनेछ) आत्महत्याको सोच निम्त्याउन अनिश्चित भविष्यको भावना मुख्य रूपमा जिम्मेवार देखियो । ‘बी’ जलवायु परिवर्तन, नश्लीय विभेद, असमानता र उनका साथीहरूले सामना गरिरहेको ‘मानसिक स्वास्थ्य’बारे रुचिका साथ बोल्छिन् । उनी ती साथीका खानपिनसम्बन्धी समस्या, एकाग्र हुन नसक्ने विकार, आफैँलाई हानि गर्ने व्यवहार र डिप्रेसनबारे मात्र जानकार छैनन्, तिनले लिइरहेका औषधोपचारबारे पनि जानकार थिइन् । 

किशोरकालमा उत्पन्न हुने यौनजन्य सोच र यौन चाहनाले पनि उनलाई चिन्तित तुल्याइरहेको थियो । उनी अहिलेको वातावरणमा आफू कसरी यौनभावना व्यक्त गर्ने भन्नेमा रनभुल्लमा छिन् । महामारीले धेरै मानिसमा बेतुकका सोच बढाएको साँचो हो । तर, किशोरकिशोरीले आफूवरपरको संसारका कमजोरी बुझ्ने प्रयास गर्दा अमेरिकाका चहर्याउने खुला घाउलाई पनि अनुभूति गर्न पुग्छन् । हरेक अमेरिकीलाई उच्च सफलता (उच्च जीवनस्तर) हासिल गर्ने समान अवसर हुने अमेरिकी आदर्श अर्थात् ‘अमेरिकन ड्रिम’ गतिहीन भयो भने के हुन्छ ? अझ अधिकतर मानिसका लागि यो आदर्श अर्थहीन भयो भने झन् के होला ?

‘बी’ उनका अभिभावकले बाँचिरहेको विरोधाभासबारे पनि कुरा गर्छिन् । उनलाई आफ्ना अभिभावक तिनका कामबाट खुसी छन् जस्तो लाग्दैन । आफ्नो ‘अभिभावकीय भूमिका’बाट पनि उनीहरू खुसी भएजस्तो लाग्दैन । उनको अनुभवमा उनका आमाबुबा आफूवरपरका राजनीतिक वातावरणसँग रुष्ट देखिन्छन् । तर पनि उनीहरू आफ्नी छोरीलाई आफ्नै जस्ता उपलब्धिहरू र उही असन्तोषपूर्ण जीवनशैलीतर्फ धकेलिरहेका छन् भनेर उद्घोष गर्छिन् ‘बी’ । उनको नजरमा उनका र अरूका पनि अभिभावक आफ्ना सन्तानहरूले व्यक्त गर्ने नकारात्मक भावनाको संकेत मात्रलाई पनि उनीहरूको अभिभावकीय भूमिकामाथिको आक्रमण ठान्छन्, सन्तानलाई ‘राम्रो जीवन दिन नसकेको’ तथ्यलाई औँल्याइदिएको रूपमा बुझ्छन् । जबकि उनीहरूका (अभिभावक) हरेक बोली व्यवहार जीवन राम्रो छैन, दुःखपूर्ण छ भन्नेतर्फ संकेत गरिरहेको हुन्छ । ‘उनीहरूले चाहिँ आफूले बाँचेको जीवनबाट बेखुस रहेको स्पष्ट देखाउन मिल्ने तर हामीले भने खुसी भएको बहाना गरिदियोस् भन्ने आशा गर्छन्,’ उनले आक्रोशको भावमा भनिन् ।

झट्ट हेर्दा उनका यी अभिव्यक्तिले उमेर पुगेका किशोरकिशोरीले आफ्ना आमाबाबुको मूल्यभन्दा पर अलग ‘निजी जीवन’लाई परिभाषित गर्न खोजेकोजस्तो देखिन्छ । तर, यसमा सबैबाट पलायन हुने चाहनाको तीव्रता भने अनौठो लाग्दो छ । ‘बी’ ग्रामीण क्षेत्रमा गएर कुकुर पाल्न चाहन्छिन्, जो उनीजस्तै सुन्दर, निर्दोष र भुवादार होस् भन्ने उनको चाहना छ । उनी काम गर्न, पैसा कमाउन, बालबच्चा जन्माउन चाहँदिनन् । उनी एक्लै बस्न चाहन्छिन् । 

एक निर्दोष बच्चाको जस्तो उनको भावनामा अवशाद/निराशा भेट्टाउन समय लाग्दैन । मकहाँ आउने धेरैजसो किशोरकिशोरी तत्काल विश्व रंगमञ्चबाट बाहिरन चाहन्छन्, मानौँ उनीहरूसँग सम्पूर्ण विकल्पहरू तयार छन् । संसारबाट मोहभंग भएजस्ता सुनिने उनीहरूको एक मात्र चाहना पलायन हुने वा चमत्कारी औषधी खाएर रातारात प्रख्यात भइहाल्नेछ । पलायनको चरमतामा उनीहरूको रोजाइ आत्महत्या हुन पुग्छ । एकपछि अर्को वैज्ञानिक आलेखहरूले अमेरिकामा किशोरकिशोरीको स्थिति बिग्रिँदै गएको देखाउँछन् । तर, अधिकांश आलेख यी पछाडिको मूल कारण उत्खनन गर्न छाडेर सामाजिक सञ्जाल, भिडियो गेम, कमजोर बन्दै गएको पारिवारिक एकाइलाई औँल्याई पन्छिने गर्छन् । 

सन् २०२१ मा मिसिगनको एक हाइस्कुलमा चार विद्यार्थीलाई मार्ने गरी भएको आक्रमणका आरोपी १५ वर्षे किशोरले आफ्नो जर्नलमा लेखेका थिए– ‘पहिलो सिकार सुन्दर भविष्य भएकी आकर्षक केटी हुनुपर्छ ताकि उसले पनि मैलेजस्तै पीडा सामना गर्नुपरोस् ।’
 

तर किशोरकिशोरी हामीलाई जे भनिरहेका छन्, त्यो गलत हो त ? लाग्छ, हामीले किशोरकिशोरी युगका आवाज हुन् भन्ने कुरा बिर्सिरहेका छौँ । ती संस्कृतिको कमी–कमजोरीमा बाँच्छन् र हाम्रा कमजोर पक्षलाई उजागर गर्छन् अनि उपलब्ध समाधानतर्फ देखाउँछन् । उनीहरू हामी आफूलाई छर्लंग देखाइदिने ऐना लिएर बसेका हुन्छन् । 

सन् १९५० मा मनोवैज्ञानिक एवं मनोविश्लेषक एरिक एरिक्सन अमेरिकी किशोरकिशोरीलाई पहिचान आवश्यक परेको बखत झन् पहिचानविहीनताको खतरा उत्पन्न हुने सिद्धान्त अघि सार्छन् । उनलाई अमेरिकीहरू गम्भीर विरोधाभासहरूको शृंखलामा बाँचेकोजस्तो लाग्छ । ‘एकातर्फ आप्रवासनको फराकिलो मार्ग अनि अर्कातर्फ परम्पराको संकीर्ण टापु, एकातर्फ वैश्विक हुन चाहने अन्तर्राष्ट्रियवाद र अर्कातर्फ बाँकी विश्वबाट अलगथलग हुने पृथक्तावाद, एकातर्फ उग्र प्रतिस्पर्धा र अर्कातर्फ आत्मिक सहयोगबीचको विरोधाभास’लाई अमेरिकीहरूले एकैसाथ बाँचिरहेको पाउँछन् उनी ।

अमेरिकाको पहिचान आर्जित सांस्कृतिक संवेदनाहरूमा आधारित नभएर कुनै पनि क्षणमा दिशा बदल्न सकिने अस्थिर आदर्शमा आधारित छ । यस्तो सक्रिय विपरीत व्यक्तित्वले तुरुन्तै पलायनको मार्ग समाउन सक्छ । अनि जब त्यो पनि असफल हुन्छ, तब मनोशारीरिक बिरामी, अपराधी व्यवहार र मनोविकृतिले गाँज्ने निष्कर्ष अस्पतालमा बिरामीहरूको अध्ययनबाट इरिक्सनले निकाले । उनी अमेरिकीको एउटै जीवनकालमा थुप्रै ठूला परिवर्तनको शृंखलालाई लिएर चिन्तित छन् । उनलाई विश्वव्यापीकरण, प्रविधिगत एवं स्वतन्त्रताको क्रान्तिले परिवर्तनको गतिलाई तीव्र बनाएको लाग्छ । यस्तो स्थितिलाई अमेरिकी किशोरकिशोरीले कसरी सामना गर्लान् ?

समाजले सुरक्षा, पहिचान र मूल्यको प्रतिज्ञामार्फत बालबालिकाका लागि द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने इरिक्सनको सुझाब छ । यी गुणले साँचो सहजता र लचिलोपन दिएर व्यक्तिलाई अक्षुण्ण राख्न सक्ने उनको धारणा थियो । पहिले मलाई इरिक्सन ५०को दशकका एक व्यावहारिक नवअभिजात लाग्थ्यो तर पछि उनका विचार भविष्यवाणीजस्तो लाग्न थाले । 

‘मोहमाया भ्रम हो,’ मलाई एक १४ वर्षीया किशोरीले भनिन् । ‘म रुन थालेँ तर पनि म भावशून्य थिएँ, साँच्चै मैले केही पनि महसुस गरिरहेकी थिइन्, जुन आफैँमा उदेकलाग्दो थियो । तर, त्यही समय मभित्रबाट एउटा आवाज आइरहेको महसुस भयो, जसले भनिरहेको थियो– तिमी अहिले किशोरवयमा छौ अनि यो उमेरमा दिग्भ्रमित रहनु सामान्य हो । जे भए पनि, कुनै कुराप्रति मायामोह नराख । यी सबै थोक एकदिन बदलिनेछन् । तर, त्यसपछि म परिवर्तनको कल्पना गर्छु तर म चाहन्छु चाहिँ के भन्ने थाहा पाउनुअघि नै आफूलाई थकित महसुस गर्छु ।’ उनी आफ्ना बारेमा यति स्पष्ट छिन् कि जुन म उनको उमेरमा थिइनँ । सायद उनी आफ्नो उमेरभन्दा दोब्बरले स्पष्ट छिन् । म उनको आत्मनिरीक्षणको क्षमतासँग अचम्मित हुन्छु । मलाई उनको त्यो क्षमता र उनको किशोरपनले उनको अन्योलको स्रोत पहिचान गर्न अवरोध पुर्याउँछ । 

बीले जब आफ्नो लैंगिक पहिचानबारे कुरा गरिन्, तब भने आत्महत्याको सोचमाथि केही प्रकाश पर्यो । केटी हुनुको दबाब, विरोधाभास र कमजोरीको बोझ उनमा निकै गहु्रँगो परेको थियो । उनी आफूलाई महिनावारीको पीडा देखाउन मेरो अफिसमा कुक्रुक्क परेकी थिइन्, जसबाट उनले नारीत्वसँग जोडिएको केही असह्य कुरा अभिव्यक्त गर्न खोजेजस्तो लाग्थ्यो । उनको नारीत्वको पहिचानले उनको अत्यन्त पीडा र भ्रमलाई जताइरहे जस्तो भान हुन्थ्यो । पहिचानको राजनीति अमेरिकाका दुवै राजनीतिक दलमा निकै पेचिलो विषय रहेको छ, तर ‘बी’को पीडाको कारण पहिचानको राजनीति थिएन । यद्यपि, पहिचानको राजनीति पनि हाम्रा किशोरकिशोरीले भोगेको पीडाबाट नै जन्मेको हो ।

फ्रायडले किशोरावस्था पुस्तान्तरणको निर्णायक समय भएको महसुस गरेका थिए । किनकि यही उमेरमा प्रत्येक किशोरकिशोरीले पहिलोपटक वयस्क जीवनको वास्तविकतासँग साक्षात्कार गर्छन् । यो उमेर समूहको खतरा भनेको तिनले आफ्नो ‘परीक्षण’ पहिचान स्थापित गर्नुअगावै उनीहरूमा उसको परिवार हाबी भइदिन सक्छ । फ्रायडले लेखेका छन्–‘किशोरावस्थाको संकटलाई उपचारको प्रयासको रूपमा पनि हेर्न सकिन्छ ,जुन प्रायः पूर्ण विनाशमा समाप्त हुन्छ ।’ व्यक्ति किशोरावस्था सुरु भएपछि मात्र सही मानेमा मनौवैज्ञानिक बिरामी हुन सक्छ, जुन विभिन्न प्रकारका ‘न्युरोसिस (स्नायुविकार)’ र ‘साइकोसिस(मानसिक विकार)’का रूपमा विकसित हुन्छ । अधिकांश मनोवैज्ञानिक समस्या किशोरकालमै देखापर्नुको कारण यही हो । 

‘मैले ऐनामा देखिएको आफैँलाई चिन्न सकिन,’ चरम ‘डि–पर्सनलाइजेसन (विभ्रम)’को चरण भोगेर अस्पतालको आपत्कालीन कक्षमा आइपुगेकी १७ वर्र्षीया एक बिरामीले मसँग भनिन् । यस घटनाको आघातपछि उनमा शारीरिक समस्या पनि देखा पर्न सुरु भयो । उनलाई इरिटेबल बउल सिन्ड्रोम(पेटमा गडबडी) देखियो र उनी पटक–पटक ‘एन्जाइटी’ र ‘प्यानिक एट्याक (मुर्छा)’बाट पनि गुज्रिइन् । ती किशोरी केही वर्षको थेरापीपछि आफूलाई भयभीत बनाउने इच्छाहरूलाई अभिव्यक्त गर्न सक्षम भइन् । 

उनले आफ्नो पहिचानमाथि आक्रमण भइरहेको महसुस गरेकी थिइन् । यदि उनी समलिंगी हुन् भने के गर्ने होला ? उनको सोचविपरीत यदि उनी र आमाबाबुबीच धेरै समानता भेटियो भने कसो गर्ने ? उनको भावना एउटी अमेरिकीको जस्तै छ कि अभिभावकका देशको नजिक छ ? किन उनले आफूले चाहेका कुराहरू गर्न सक्दिनन् र आफूले गर्न नचाहेको कामकुरामा धेरै समय भुलिरहेकी हुन्छिन् ? सेक्स, लागुऔषध, आफ्नो कामप्रतिको अलगावलगायत कार्यमार्फत उनलाई बारम्बार यस्ता प्रश्नले घचघच्याइरहन्थे । बारम्बार उनको मनमा ‘खै कहाँ छ तिम्रो पहिचान ?’ भन्ने प्रश्न उठिरहन्थ्यो ।

विद्यालयमा बन्दुक–आक्रमणमा संलग्न श्वेत किशोरहरूको कथामा यस्तै खाले पहिचानका समस्या पाइन्छन् । उनीहरूले आफूभित्र महसुस गर्ने खाली र अपूरोपनको पीडालाई बाह्य आक्रमणमार्फत शान्त पार्ने प्रयास गर्छन् । सन् २०२१ मा मिसिगनको एक हाइस्कुलमा चार विद्यार्थीलाई मार्ने गरी भएको आक्रमणका आरोपी एक १५वर्षे किशोरले आफ्नो जर्नलमा लेखेका थिए– ‘पहिलो सिकार सुन्दर भविष्य भएकी आकर्षक केटी हुनुपर्छ, ताकि उसले पनि मैलेजस्तै पीडा सामना गर्नुपरोस् ।’

म अक्सर आफूलाई किशोरकिशोरीको भित्री आवाजलाई निकास दिलाउने, तिनका गलत हर्कतको चाहनालाई सुस्त बनाउने, उनीहरूका ‘एन्जाइटी’लाई स्थान दिने आफूसँग उत्तर नभए पनि उनीहरू र उनीहरूवरपरको जटिल भावनाको खोजी गर्न समय निकाल्ने प्रयास गरिरहेको पाउँछु । तर, यसो गरिरहँदा मनमा प्रश्न उठ्छ– के हामी अमेरिकीहरू एक आक्रामक, विद्वेषपूर्ण (अरूलाई दोषी देखाउने) तातै खाऊँ जली मरूँ भन्ने खाले द्रुत समाधानलाई प्राथमिकता दिने, वास्तविक गतिरोधलाई हटाउनेभन्दा पनि सतही कार्यलाई जोड दिने, एन्जाइटी छैन भनेर भ्रम फैलाउने देशमा बाँचिरहेका छैनाैँ र ?

‘ए’ कलाकार बन्न चाहन्छिन् र उनीसँग विशेष प्रतिभा पनि छ । तर, जब उनको आफूप्रतिको मनोभावना यति अनिश्चित छ भने उनले कसरी स्वेच्छाले अनिश्चित पेसा रोज्न सक्छिन् ? यस्तो लाग्छ, उनी एउटा यस्तो प्रश्न सोधिरहेकी छिन्, जुन उनलाई उनको समग्र जीवनले नै सोध्न बाध्य पारेको छ र त्यसमा उनका आप्रवासी अभिभावकले अमेरिकामा सामना गरेको नसुल्झिएका द्वन्द्वहरूको अंश पनि छ । तर, साँचो बोल्ने हो भने यो प्रश्न सबै अमेरिकीहरूको मनमा छ– आखिर यो देशमा जीवन किन यति अनिश्चित भएको ? भविष्यप्रतिको निराशाबीच कसरी जिउने ? अनि यी विरोधाभास, यी निराशाको उदय त्यो अमेरिकामा भइरहेको छ, जसले आशावादिता सुख र समृद्धिको खोजीलाई आफ्नो आदर्श र सपना ठान्छ । । यस अर्थमा किशोरकिशोरीहरू उपचारको पर्खाइमा मात्र छैनन्, उनीहरू सबै अमेरिकीलाई नितान्त जरुरी रहेको उपचार पहिचान गर्ने सम्भावना पनि बोकेर बसेका छन् । 
– द न्युयोर्क टाइम्सबाट

सुझावित समाचार