प्रोत्साहनको शक्ति

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

भ्यागुताको एउटा समूह जंगलको बाटोबाट यात्रा गर्दै थियो । हिड्दै जाँदा उनीहरूको समूहका दुइटा भ्यागुता एउटा गहिरो खाडलमा खस्न पुग्छन् । बाँकी रहेका सबै भ्यागुता त्यस खाडलको वरिपरि भेला भएर खाडल कति गहिरो रहेछ भनेर हेर्छन् र खाडलको गहिराइ बोध गरिसकेपछि तल खसेका दुई भ्यागुतालाई अब उनीहरू माथि आउन सक्ने कुनै आशा बाँकी नरहेको प्रतिक्रिया दिन्छन् ।

ती दुई भ्यागुताले अरूले के भन्छन् भन्ने कुरालाई वास्ता नगर्ने निधो गर्छन् र खाडलबाट उफ्रिएर बाहिर निस्किने प्रयास गर्न थाल्छन् । ती दुईले बाहिर निस्किने प्रयास गरिरहँदा बाहिर रहेका भ्यागुताहरू भने प्रयास गर्नु बेकार रहेको र बाँच्ने आशा त्याग्न भनिरहन्छन् । अन्ततोगत्वा, ती दुईमध्ये एउटाले अरूको कुरा सुनेर प्रयास गर्न छोड्छ र मर्छ । अर्काे भ्यागुतोले भने आफ्नो प्रयासलाई झन् कडा बनाउँदै जारी राख्छ । उसलाई माथि रहेका भ्यागुताको भिडले दुःख नगर, तिमी आउनै सक्दैनौ भनिरहन्छ । तर, उसले कसैको कुरा सुन्दैन र आफ्नो कडा प्रयास जारी राख्छ र अन्ततः बाहिर निस्किन्छ । ऊ बाहिर निस्किएपछि अरू भ्यागुताले उसलाई सोध्छन्, ‘के तिमीले हामीले भनेको सुनेनौ ?’ उनीहरूलाई त्यो भ्यागुताले आफ्नो सुन्ने शक्ति गुमेको र आफूले कान सुन्न नसक्ने बताउँछ । 

त्यो भ्यागुतोले माथिरहेका भ्यागुताले पूरै समय आफूलाई प्रोत्साहित गरिरहेको ठानेको थियो । यो कथाले कहिल्यै पनि अरूलाई हतोत्साहित गर्न नहुने र प्रोत्साहनमा ठूलो शक्ति हुन्छ भन्ने शिक्षा दिन्छ । तपाईं हाम्रा शब्दले अरूको जीवनमा ठूलो प्रभाव पार्न सक्छ । तपाईंको शब्दले गर्दा कसैको मृत्यु हुन सक्छ । त्यसैले बोल्नुअघि विचार गर्नु र सकारात्मक कुरा मात्रै बोल्नुपर्छ । सकारात्मकता जीवन हो । 

सुझावित समाचार