होटेल संघ नेपालले बैंकको साँवा–ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप नगरे होटेलहरू बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ। होटेलहरूको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको साँवा–ब्याज तिर्न नसक्ने घोषणा गरेको हो।
संघले कोभिडबाट थलिएको होटेल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको साँवा–ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको साँवा–ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए। सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटेलहरूलाई दिएको बैंकको साँवा, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए।
उनले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रूपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताए। साहले विगतको भन्दा होटेलहरू सामान्य सुधार भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए।
उनले अहिले पनि होटेलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका वेलामा पनि बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने साँवा–ब्याज तिर्न दबाब दिए पनि पोखरा र भैरहवाका होटेल व्यवसायीले असोज मसान्तमा तिर्न सक्दैनौँ भनेर घोषणा गरेको भन्दै देशभरका होटेलहरूमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटेलहरू बन्द गर्नुपर्ने चेतावनी दिए।
उनले भने, ‘साढे तीन वर्षदेखि कोरोना महामारीको कारण होटेल उद्योग थलिएको छ। सरकारले अतिप्रभावित उद्योग भनेर छुट्याएको थियो । गत आर्थिक वर्षहरूमा बजेट र मौद्रिक नीतिहरूले होटेलहरूले बैंकहरूबाट लिएको साँवा–ब्याजमा दिने समय थप गरेको थियो। चालू आर्थिक वर्षदेखि होटेलहरूलाई दिएको सहुलियत खारेज गर्यो। सरकार, राष्ट्र बैंक र बैंकहरूले होटेलहरू सामान्य अवस्थामा आएको भन्ने भएको छ।
होटेलहरूले ब्रेक इभेन्ट कमाउन सकिए रहेका छैनौँ । हरेक दिन होटेलहरू घाटामा नै छन् । घाटामा नै होटेलहरू सञ्चालन गरिरहेका छौँ । होटेलहरू पूर्ण रूपमा चलेको अवस्था छैन । यस्तो अवस्था बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने साँवा–ब्याज तिर्न दबाब दिएका छन् । होटेलहरूले धान्न सक्ने अवस्था छैन।’
साहले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रूपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको बताए।
साथै उनले अहिले पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रूपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने र बढ्दो ब्याजदरले होटेल उद्योग धान्नै नसकिने भएकाले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए।