पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ४ पञ्चपेडा गाउँका मतदातालाई भेट्न र मत माग्न प्रत्येक निर्वाचनमा ठूलादेखि साना दलका नेताहरू आउँछन्। भोट माग्छन्– यो र त्यो गर्ने वाचा गर्छन्। तर, चुनाव जितेपछि भने नेताहरू कहिल्यै गाउँ फर्कँदैनन्। न आफूले गरेका वाचा पूरा गर्छन्, न त मतदाताको समस्या नै बुझ्न पुग्छन्।
यो गाउँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ। अहिले यहाँबाट नेपाली कांग्रेसबाट देशकै सबैभन्दा धनी उद्योगपति विनोद चौधरीदेखि एमालेसमेतको समर्थनमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसम्म निर्वाचन लड्दै छन्। यो कहिले कांग्रेसले त कहिले यो वा त्यो पार्टीबाट त्रिपाठीले जित्दै आएको निर्वाचन क्षेत्र हो।
निर्वाचनको माहौल सुरु भएलगत्तै सयभन्दा बढी घरपरिवार रहेको यस गाउँमा अहिले पनि उम्मेदवार र दलका नेताहरू भोट माग्न धाइरहेका छन्। तर, उनीहरूले अघिल्लो निर्वाचनमा गरेको वाचा भने अझै पूरा गरेका छैनन्। अधिकांश गरिब विपन्न परिवार बसोवास गर्ने यस गाउँको दशकौँदेखिको मुख्य माग नै खजुरा नदीमा पुल बनाउने हो।
दुई वर्षअघि नदीमा पुल बनाउने नापजाँच गरेको स्थानीयलाई राम्ररी याद छ। तर, पुल अझै पनि बन्न सकेको छैन। साना कल्भर्ट छन्। तर, गाउँमा कोही बिरामी हुँदा बिरामी लैजान त्यहाँबाट एम्बुलेन्ससमेत जान सक्दैन।
बिरामी बोक्न एम्बुलेन्स मात्र होइन, बर्खाको समय त स्थानीयलाई पैदल आउजाउ गर्न पनि समस्या हुने गरेको छ। स्थानीय ललन केवट भन्छन्, ‘पञ्चपेडा खजुरा नदीमा तीन फिटको कल्भर्टजस्तो छ। न एम्बुलेन्स पार हुन्छ, न अन्य कुनै चारपांग्रे सवारीसाधन। हामीले निकै दुःख पाएका छौँ।’
तीन फिटको सामान्य पुलमा मान्छे मात्र आवतजावत गर्दै आएका छन्। यहाँका नागरिकले संघ, प्रदेश र जिल्लाका नेताहरूसँग पुल निर्माण गर्न धेरैपटक प्रस्ताव राखे पनि सबैले आश्वासन मात्र दिँदै आएका स्थानीयहरू बताउँछन्।
‘निर्वाचनको समयमा सबै नेताहरू मत माग्न आउँछन्। तर, जितेपछि अहिलेसम्म मुख देखाउन नआएका नेताहरू चुनाव आएसँगै गाउँ छिर्न थालेका छन्,’ स्थानीय ललनले असन्तुष्टि व्यक्त गरे।
उनका अनुसार व्यवस्थित पुल नभएकै कारण आवतजावत गर्ने क्रममा धेरैपटक बच्चाहरू खोलामा खसेका छन्। साँघुरो बाटो भएकै कारण बिरामी पर्दा घरसम्म एम्बुलेन्स आउँदैन। बिरामीलाई मोटरसाइकल वा साइकलमा राखेर वारपार गराउनुपर्ने बाध्यता छ।
करिब एक वर्षअघि गाउँका एकजनाको घरमा आगलागी भएको थियो। आगो निभाउन आएको दमकलले गाउँ प्रवेश गर्ने बाटो नपाउँदा घरमा रहेका सबै सामान जलेर नष्ट भएको ललनलाई अझै याद छ। पटकपटक आफूहरूलाई दल र दलका नेताहरूले झुक्याएका कारण मतदाता निकै असन्तुष्ट छन्।