यस संसारका ‘सृष्टिकर्ता’ ब्रह्माजीले एकपटक एक मानिसलाई आफूकहाँ बोलाए । उनले ती मानिससित सोधे– तिमी मबाट के चाहन्छौ ? मानिसले जवाफ दिए– म उन्नति, सुख, शान्ति र सन्तुष्टि चाहन्छु । र, सबैले मेरो प्रशंसा गरेको देख्न र सुन्न चाहन्छु ।
ब्रह्माजीले ती मानिसका अगाडि दुईवटा थैला राखिदिए र भने– यी दुवै थैलालाई लिएर जाऊ । यीमध्ये एक थैलो तिम्रा छिमेकीका खराब बानी–व्यहोरा र कमजोरीले भरिएको छ त्यसलाई जहिल्यै ढाडमा बोक्नू । बन्द राख्नू, कहिल्यै नखोल्नू । आफू पनि नहेर्नू र अरूलाई पनि नदेखाउनू । दोस्रो थैलो तिम्रा आफ्ना खराब बानी–व्यहोरा र कमजोरीले भरिएको छ ।
यसलाई जहिल्यै अगाडि बोक्नू । पटकपटक खोलेर हेर्नू । मानिसले दुवै थैला उठायो र त्यहाँबाट हिँड्यो । तर, उसले एउटा गम्भीर गल्ती गर्यो । उसले आफ्नो कमजोरीको थैलो ढाडमा बोक्यो र त्यसको मुख बलियोसँग बन्द गरिदियो । छिमेकीको खराबीले भरिएको थैलोचाहिँ अगाडि बोक्यो र त्यसलाई पटक–पटक खोलेर हे¥यो र अरूलाई पनि देखायो ।
परिणामतः उसले जुन वरदान मागेको थियो, त्यो पनि उल्टो भयो । उसको अवनति सुरु भयो । उसले दुःख र अशान्ति मात्र पायो । जीवनमा सुख, शान्ति र उन्नति चाहने हरेकले यी मानिसले गरेको गल्तीलाई सच्याउनु आवश्यक छ । मानिसले अरूको होइन, आफ्ना दोषमाथि पूर्ण दृष्टि दिनु र तिनलाई सच्याउँदै अघि बढ्न सक्नुपर्छ ।