प्रधानमन्त्री देउवाद्वारा वाङमय शताब्दी पुरुष सत्यमोहनको निधनप्रति दु:ख व्यक्त

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।  

प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत जोशीको निधनको खबरले दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने बताएका छन्  ।

पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेंगुबाट समेत संक्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।

शताब्दी पुरुषको आज बिहान ७:०९ बजे निधन भएको उनको उपचारमा संलग्न डा. सुरज बज्राचार्यले जानकारी दिए । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।     

 

सुझावित समाचार