काठमाडौं / गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र मर्यादा विपरीत गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिप्रति गृहगृहमन्त्रीले गम्भीर चासो व्यक्त गरेका छन्।
गृहमन्त्री सुदन गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताए। पदका कारण सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ।
उनका अनुसार गृह मन्त्रालय तथा मातहतका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक हुन सक्छ।
गुरुङले राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गरी देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्।
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले भनेका छन्।
गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिरिने घटनालाई गम्भीर रूपमा लिइने उल्लेख गर्दै उनले त्यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन्।