मकवानपुरका यी उम्मेदवार जसले पाउँदैनन् आफैँलाई भोट हाल्न

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदातालाई खुसी पार्न मकवानपुरमा दलका उम्मेदवारहरू अगुवा कार्यकर्ता भेला, छलफल तथा अन्तर्क्रियामा व्यस्त हुन थालेका छन्।

आफ्नै पार्टीका कार्यकर्ताको मात्र नभई अरूको भोट कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा दलका नेता र उम्मेदवारहरू रणनीति बनाउन तल्लिन छन्। तर, अरूको भोट पाएर जित्ने दाबीका साथ हिँडिरहेका मकवानपुरका केही उम्मेदवारहरू आफैँलाई भने भोट हाल्न पाउने अवस्थामा छैनन्।

दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा रहेको मकवानपुरमा कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन्। तीमध्ये केहीले मतदाता नामावलीमा आफ्नो नाम भएकोभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई मत हाल्न नपाउने भएका छन्।

मकवानपुरबाट आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरूमा विशेष गरी ठूला दलका उम्मेदवारहरू नै रहेका छन्। प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सत्तागठबन्धनकै एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले आफैँलाई मत हाल्न पाउनेछैनन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी डिनाको मतदान केन्द्र क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका–७ मा रहेको श्री मावि मेलटारमा रहेको छ। यसैगरी, क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका खतिवडाले क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी मावि मतदान केन्द्रमा मतदान गर्नेछन्।

यसैगरी, नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)बाट उम्मेदवार बनेका एकलाल श्रेष्ठले पनि आफूलाई मत दिन पाउँदैनन्। उनको मतदाता नामावली क्षेत्र नम्बर २ (क)मा रोपवे भवन चौकिटोल मतदान केन्द्रमा रहेको छ।

सत्तागठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मुक्तानले पनि आफूलाई मत दिन पाउँदिनन्। क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवार बनेका बानियाँले क्षेत्र नम्बर १ (क)मा रहेको कमला निमावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने क्षेत्र नम्बर २ (क)बाट उम्मेदवार बनेकी मुक्तानले क्षेत्र नम्बर १ (ख)बाट मतदान गर्नेछिन्।

सुझावित समाचार