एमालेको सूची सार्वजनिक

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

एमालेले आगामी ४ मंसिरमा हुने आमनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारको सूची सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार एमालेले एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । 

केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार बाँकी २४ सिटमध्ये १७ सिट जसपा, तीन सिट राप्रपा, एक सिट कांग्रेसको विद्रोही समूह र एक सिट कांग्रेसको बिपी समूहलाई छाडिएको छ । त्यस्तै, एक सिटमा पश्चिम नवलपरासीमा हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ ।

रौतहटमा आधिकारिक उम्मेदवार प्रभु साहले नै स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि सिट रिक्त छ । त्यस्तै, प्रदेशमा तीन सय ३० मध्ये ४२ सिट जसपालाई छाडेको एमालेले राप्रपालाई चार सिट छाडेको छ । एमालेको समर्थनमा राप्रपाले प्रदेशमा चार सिटमा चुनाव लड्दै छ । 

साह एमालेबाट निष्कासित 
एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज प्रभु साहलाई निष्कासन गरेको छ । रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साहलाई एमालेले शुक्रबार निष्कासन गरेको हो ।

त्यस्तै, रौतहटका इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुसवाहलाई पनि एमालेले निष्कासन गरेको छ । उद्धव रेग्मीलाई रौतहटको सहइन्चार्जको जिम्मेवारी दिइएको छ । कारबाहीअघि एमाले मधेस प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको थियो । स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्तागठबन्धनले समर्थन गर्ने निर्णय गरिसकेको छ ।

See More On

सुझावित समाचार