मेरो खाना
मलाई खाइरहनुपर्छ । खाना नखाई बस्न सक्दिनँ । यसर्थ, म ‘फुडी’ नै छु । सामान्यतया मलाई मन पर्ने खाना दाल–भात–तरकारी नै हो । त्यसैले जहाँ पुगे पनि दाल–भातचाहिँ खानैपर्छ । विदेश गएको वेला म ‘सी फुड’ खान्छु । मलाई असाध्यै मन पर्छ । कतिपय अवस्थामा खाना नखाई पनि सक्छु । खाना नखाँदा फलफूल मात्रै पनि खान्छु ।
मलाई नेवारी परिकार साह्रै स्वादिलो लाग्छ । यसमा चिउरा, लसुन, भटमास, छोइला, उसिनेको सिमी, बारा, उसिनेको अन्डा, हरियो सागपात, तामाको झोल तरकारी, आचारलगायतका परिकार मिठो लाग्छ ।
म खानपिनमा खासै ‘चुजी’ मान्छेचाहिँ होइन । मलाई खान पाए पुग्छ । जंकफुड खानुहुँदैन भनिन्छ, स्वास्थ्यका हिसाबले राम्रो पनि होइन । तर, म ठ्याक्कै विपरीत छु । जंकफुड प्रायः खाइरहेकै हुन्छु । मःम, चाउमिन, पिज्जा त्यति मन पर्दैन । मलाई प्रायः सबै फलफूल मन पर्छ । सिजनअनुसारका सबै फलफूल खान्छु । पानी पर्याप्त पिउने गर्छु । जसले शरीरमा ऊर्जा दिनुका साथै निरोगी बनाउन सहयोग गरेको छ ।