पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिँदा ‘बागी’ले लिएनन्

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका दुई र प्रदेश सभा सदस्यमा एक गरी तीजनाले फिर्ता लिएका हुन्।
 
प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका नन्दकिशोरप्रसाद श्रीवास्तव, स्वतन्त्रबाट उम्मेदवारी दिएकी शान्तिदेवी खड्काले फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ। 

यस्तै पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महम्मद आलम देवानले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेल जानकारी दिए। 

यस्तै, पर्सा क्षेत्र ३ मा उम्मेदवारी दिएका एकजना फिर्ता लिएका छन्। क्षेत्र नम्बर ३ को (क)मा स्वतन्त्रबाट उम्मेदवारी दिएका मनोजकुमार यादवले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए। 

त्यस्तै, पर्सा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका दुईजनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका टेकबहादुर शाक्य र स्वतन्त्रबाट उम्मेदवारी दिएका महम्मद कालिम मन्सुरीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ। 

बागीले लिएनन्  फिर्ता  

पर्सामा रहेको चारवटा प्रतिनिधिसभा र आठवटा प्रदेश सभा सदस्यमा दलबाट टिकट नपाएर बागी उम्मेदवारी दिएकाहरूले फिर्ता नलिएको पाइएको छ।

राजनीतिक पार्टीले गठबन्धनविरुद्धमा उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिए पनि उनीहरूले फिर्ता नलिएको पाइएको हो।

मंगलबार सत्तागठबन्धन र एमाले–जसपा गठबन्धनका नेताहरूले पार्टीविरुद्धमा उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन आग्रह गरेका थिए। 

तर, पार्टीबाट टिकट नपाएको र पार्टीभन्दा जनता ठूलाे रहेको भन्दै चुनाव लड्न थालेकाले उम्मेदवारी फिर्ता नलिएको उनीहरूको भनाइ छ।

सुझावित समाचार