बोटल र जारको पानी महँगोमा बेचे कारबाही गरिने

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रूपमा प्रयोग हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको छ । विभागले मंगलबार प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद्, प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमनसहितको छलफलमा तोकिएको अधिकतम मूल्य लागू गर्न व्यवसायी तथा पानी उद्योगीलाई निर्देशन दिएको हो ।

उपत्यकाभित्र एक लिटर बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ छ । तर, खुद्रा पसलले उपभोक्ताबाट २० रुपैयाँदेखि २५ रुपैयाँसम्म लिँदै आएका छन् । त्यस्तै, २० लिटरको जारको पानी अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको भए पनि ५० देखि ६० रुपैयाँसम्म उपभोक्ताले तिर्दै आएका छन् । त्यस्तै, उपत्यकाबाहिर एक लिटर पानीको बोटलको मूल्य २० रुपैयाँ तोकिएको भए पनि उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्ममा किनेर खान बाध्य छन् । वाणिज्य विभागले तोकिएको अधिकतम (एमआरपी) मूल्यभन्दा बढी लिने गरेको पाइए तत्काल कारबाही गर्ने जानकारी दिएको छ ।

उद्योगी, विक्रेता, खुद्रा पसलले अधिकतम मूल्यभन्दा बढी लिए–नलिएको अनुगमनको कार्यलाई तीव्र बनाइने विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न र कसैले जबर्जस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालयमा, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र स्थानीय तहमा सूचना दिन पनि सकिने भट्टराईले बताए । उनले भने, ‘हामी उपभोक्तालाई पनि भन्छौँ, बोटल वा जारकोे पानीमा तोकिएको अधिकतम मूल्यभन्दा बढी नतिर्नुस्, बढी लिएको पाइए तत्काल कारबाही गर्छौं ।’

बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुब गौतमले उद्योगी र विभागको समन्वयमा मंगलबारबाट अनुगमन गर्ने जानकारी दिए । उनले भने,‘सरकारले तोकिएको मूल्य १६ रुपैयाँ हो, उपभोक्ताले २० रुपैयाँ तिरेर खान बाध्यछन्,एमआरपी मूल्यभन्दा बढी मूल्यमा बेचेको पाइएकोहुँदा नै विभागसँगको समन्वयमा अनुगमन गर्न 
लागेका हौँ ।’
 

See More On

सुझावित समाचार