सिद्धार्थ क्यापिटल लिमिटेडले स्थापनाको १०औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न योजना ल्याएको छ । कम्पनीले १० जनालाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गर्ने, सिद्धार्थ एसआइपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका एक सयवटा एकाइ प्रदान गर्ने र लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकलाई ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्ने योजना ल्याएको छ ।
त्यस्तै, कम्पनीले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अनुसन्धानमूलक लेखन प्रतियोगिता आयोजना गर्ने घोषणा पनि गरेको छ । वार्षिकोत्सव कार्यक्रम नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र सिद्धार्थ क्यापिटलका अध्यक्ष मोहित केडियाले संयुक्त रूपमा उद्घाटन गरेको जनाइएको छ । धितोपत्र बोर्डका अध्यक्ष हमालले सिद्धार्थ क्यापिटल लिमिटेडलाई १० वर्षको सेवा पूरा गरेकोमा बधाई दिएका थिए । क्यापिटलका अध्यक्ष केडियाले कम्पनीका सबै कर्मचारी, ग्राहक र अन्य सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सिद्धार्थ क्यापिटलको १० वर्षको यात्रा प्रस्तुत गरिनुका साथै १०औँ वार्षिकोत्सवको अवसरमा नयाँ स्मृति चिह्न पनि विमोचन गरिएको थियो । यसका सथै कम्पनीले कर्मचारी संलग्नतामा विभिन्न कार्यक्रम, वृक्षरोपण र रक्तदानलगायत सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि सञ्चालन गरेको जानकारी दिएको छ ।