आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले बुधबार नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ