कुनै समय कहिल्यै सूर्य नअस्ताउने साम्राज्यको परिचय बनाएको इंग्ल्यान्डमा नौसेनाका अधिकारीको छनोटका लागि अन्तर्वार्ता चलिरहेको थियो । त्यसका लागि थुप्रै उम्मेदवार सम्मिलित थिए । ती अनेकौँ उम्मेदवारमध्ये माउन्ट बेटन नाम गरेका व्यक्ति पनि थिए । पालैपालो एकपछि अर्को व्यक्तिको अन्तर्वार्ता लिइसकेपछि बेटनको पालो आयो ।
आफ्नो पालो आएको जनाउ पाएपछि माउन्ट बेटन अन्तर्वार्ता भइरहेको कोठामा प्रवेश गरे । उनी अन्तर्वार्ता लिने अधिकारीलाई अभिवादन गरेर आफ्ना लागि निर्धारित सिटमा बडो आत्मविश्वाससाथ बसे । अन्तर्वार्ताकारले अप्रत्यासित रूपमा उनलाई सोधे, ‘यदि समुद्रमा भीषण आँधी आयो भने तिमी के गर्छौ ?’ प्रश्न सुनेपछि बेटन मुसुक्क मुस्काए र बडो आत्मविश्वासपूर्वक जवाफ दिए, ‘लंगर लगाएर जहाजलाई स्थिर गर्नेछु ।’
उनको जवाफ सुनिसकेपछि ती प्रश्नकर्ताले पुनः प्रश्न गरे, ‘ल ठिकै छ, एउटा आँधी आएपछि तिमी लंगर लगाएर जहाज स्थिर गरौला । तर, यदि फेरि अर्को भीषण आँधी आएर जहाजलाई घेर्यो भने त्यतिखेर तिमी के गर्छौ ?’ हँसिलो अनुहार बनाउँदै बेटनले जवाफ दिए, ‘यदि अर्को भीषण आँधी आयो भने म फेरि अर्को लंगर लगाएर जहाजलाई अड्याउँछु ।’ प्रश्नकर्ताले फेरि यही प्रश्न दोहोर्याए, बेटनले पनि फेरि त्यही जवाफ दोहोर्याए ।
यो सवाल जवाफको क्रम केही बेर चलिरह्यो । सवाल पनि दोहोरिइरह्यो र जवाफ पनि दोहोरिइरह्यो । एकछिनपछि प्रश्नकर्ताले मुस्कुराउँदै सोधे, ‘तिम्रो कुरा त ठिकै हो युवक, तर समुद्रमा आँधीमा घेरिएको विपत्तिको क्षणमा तिमीले यति धेरै लंगरचाहिँ कहाँबाट ल्याउँछौ ?’ प्रश्नकर्ताको आशय बुझेपछि मुसक्क हाँस्दै कुनै अप्ठ्यारो नमानी जवाफ फर्काए, ‘त्यहीँबाट श्रीमान्, जहाँबाट तपाईं यसरी एकपछि अर्को भीषण आँधी ल्याइरहनुभएको छ ।’
माउन्ट बेटनको जवाफ सुनिसकेपछि प्रश्नकर्तासित उनलाई सोध्नका लागि कुनै पनि प्रश्न बाँकी थिएनन् । बेटनको आत्मविश्वास र सवाल–जवाफमा निपूणता देखेर उनैलाई रोजियो ।