नागढुंगा सुरुङमार्ग तोकिएको समयमा नबन्ने : निर्माण कम्पनीले माग्यो थप नौ महिना

मुख्य सुरुङको लम्बाइ २६ सय ८८ मिटर रहेकोमा हालसम्म १,५४३ मिटर मात्रै निर्माण

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण

निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्माण कार्य निर्धारित समयमा नसकिने पक्का भएको छ । आयोजनाको पछिल्लो भौतिक प्रगतिअनुसार निर्माण कार्य ४२ प्रतिशत मात्रै सम्पन्न भएको छ । त्यस्तै, वित्तीय प्रगति भने ४७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । तर, आयोजना सम्पन्न गर्नुपर्ने समय अब एक वर्ष पनि बाँकी छैन । सोहीकारणले समयमा शतप्रतिशत निर्माण कार्य सकिने सम्भावना नरहेको आयोजनाका सहायक प्रमुख माधव अधिकारीले बताए । 

सडक विभाग र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच भएको सम्झौताअनुसार अप्रिल ०२३ भित्र आयोजना निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएको थियो । थपिएको समयअनुसार जुलाई ०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ । तर, त्यस अवधिमा पनि आयोजना निर्माण नसकिने अधिकारीको भनाइ छ । 

सुरुङमार्ग डिसेम्बर ०२० (पुस ०७७) देखि निर्माण कार्य सुरु भएको थियो । काम सुरु गरेको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । कोरोनाका कारण त्यसमा ८६ दिन म्याद थप भइसकेको छ । तर, अहिले समयमै नसकिने भन्दै निर्माण कम्पनीले थप आठ–नौ महिना समय मागेको अधिकारीले बताए । ‘अहिलेसम्म काम आधा पनि भएको छैन । तर, बाँकी समय भने एक वर्ष पनि छैन । सोहीअनुसार आयोजनाको निर्माण कार्य समयमै नसकिने पक्कापक्की भएको छ,’ अधिकारीले भने, ‘निर्माण कम्पनीले हामीसँग थप आठ–नौ महिना समय मागेको छ । त्यसमा हामी छलफल गर्दै छौँ ।’

विशेष गरी सुुरुङमा पहिरो जाने समस्याका कारण निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । ‘हामीले पहिला जुन साइजको सुरुङ बनाउने भनेका थियौँ, त्यहीअनुसार सुरुङ खन्यौँ । त्यसलाई रक बोल्टिङ, क्लाउटिङ गर्ने काम पनि गर्यौँ,’ उनले भने, ‘तर, पछि जमिन सर्ने (पहिरो जाने) समस्या देखिन थाल्यो । अहिले पनि त्यसलाई दैनिक १२ पटक (दुई घन्टाको अन्तरमा) विशेष निगरानी गर्नुपर्छ । त्यसले गर्दा अहिले हामी पर्ख र हेरको अवस्थामा छौँ । त्यसले गर्दा आयोजनाको निर्माण कार्य सोचेअनुरूप अघि बढ्न सकेको छैन ।’

थप समय मागेको छ 
माधव अधिकारी, सहायक प्रमुख, नागढुंगा सुरुङमार्ग आयोजना 

काम सुरु गरेको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । कोरोनाका कारण त्यसमा ८६ दिन म्याद थप भइसकेको छ । तर, अहिले समयमै नसकिने भन्दै निर्माण कम्पनीले थप आठ–नौ महिना समय मागेको  छ ।

जाइकाको सहयोगमा नेपाल सरकारले ०६९ देखि ०७२ सम्म यस आयोजनाको सर्वेक्षण गरेको थियो । यसलाई नेपालको पहिलो आधुनिक सुरुङमार्गको रूपमा लिइएको छ । यद्यपि, पहिलो सुरुङमार्ग भने राजाको पालामा हेटौँडामै बनेको थियो । आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ  । त्यसमा हालसम्म १,५४३ मिटर सुरुङ निर्माण भएको छ । पूर्व (काठमाडौं)बाट सात सय ८३ मिटर र पश्चिम (नागढुंगा)बाट सात सय ६० मिटर सुरुङ खनिसकिएको छ । 

यस्तै, इभ्याकुएसन सुरुङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर रहेको छ । त्यसको भने एक हजार सात सय १५ मिटर सुरुङ खनिएको छ । त्यसमा पूर्वबाट नौ सय ३६ मिटर र पश्चिमबाट सात सय ७९ मिटर सुरुङ खनिएको छ । वर्किङ अडिटको शतप्रतिश अर्थात् एक सय २६ मिटर नै काम सम्पन्न भएको छ । क्रस–प्यासेजको भने ७४ मिटर निर्माण भएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर रहेको छ । 

यस्तै, सुरुङमार्गअन्तर्गतको तीनवटा अन्डरपासमध्ये दुईवटाको निर्माण सम्पन्न भइसकेको छ । यस्तै, आयोजनामा बन्ने चारवटैै बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना) निर्माण सम्पन्न भएको छ । यस्तै, आयोजनामा हुने एउटा अन्डरपास, तीनवटा पुलको पनि निर्माण सम्पन्न भएको छ । योबाहेक एक फ्लाइओभर पनि निर्माणको चरणमा रहेको आयोजाको भनाइ छ ।

आयोजनाको कुल लागत २२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । पहिला २० अर्ब ६० करोड रुपैयाँमा उक्त अयोजना बन्ने भनिएको थियो । तर, जापानिज येन बलियो भएका कारण लागत बढेको हो । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारको हुनेछ । नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ  । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ ।आयोजनामा २६ जनाको उच्च व्यवस्थापन जापानिज नेतृत्वमा रहेको छ भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ६ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
 

सुझावित समाचार