निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारीविरुद्ध उजुरीमाथिको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए।
हिजो असोज २३ गते सो निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने आज अपराह्न ३ बजेसम्म त्यसमाथिको दाबी–विरोध र उजुरीको समय तोकिएको थियो।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाबाट विद्युत् र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरूको डाटा भने आउन बाँकी रहेको जानकारीसमेत दिए।
उनले भने, ‘जिल्लामा हिजो मनोनयन दाखिला भयो। अब मनोनयन दाखिलाको काम टुंगिएको छ। त्यसका डाटाहरू पनि प्राप्त भएको छ। अब कर्णालीका जिल्लाहरूमा अझै पनि इन्टरनेट र टेलिफोन अवरुद्ध भइराखेको हुनाले त्यहाँको चाहिँ सिस्टममा पोस्टिङ हुन सकेको छैन। नभए अरू सबैतिरको आइसकेको छ। र, आज ३ बजेसम्म दाबी, विरोध र उजुरी गर्ने कार्यक्रम थियो,’ ‘यो सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमै हुन्छ। र, सम्बन्धित निर्वाचन अधिकृतले नै यो टुंगो लगाउनुपर्छ।’
आयोगले उम्मेदवारीहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्ध हुने पनि बताएको छ। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ।