सर्लाही सदरमुकाम मलंगवा नगरपालिकास्थित शिवसागर चोकमा स्कारपियोको ठक्करबाट बालकको ज्यान गएको छ।
सोमबार मलंगवा नगरपालिका–४, शिवसागर चोकमा ना १ झ १७०० नम्बरको स्कारपियोको ठक्करबाट ईश्वरपुर नगरपालिका–१४, बस्ने हिरालाल मण्डलको अन्दाजी ३/४ वर्षको छोरा निशान्तकुमार मण्डलको मृत्यु भएको हो। मलंगवा–नवलपुर सडकखण्डकाे शिवसागर चोकमा दिउँसो स्कारपियोले बालकलाई ठक्कर दिएको थियो।
स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बालकलाई उपचारको लागि अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न स्कारपियो जिल्लाको चक्रघट्ट गाउँपालिका कार्यालयको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। बालकको शव परिवारको जिम्मा लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।