साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.१६ अंकले घटेर एक हजार आठ सय ७१.२२ बिन्दुमा आइपुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ५.३६ अंकले घटेर तीन सय ६६.८४ बिन्दुमा आइपुगेको छ।
आइतबार दुई प्रतिशतले बढेको बजार सोमबार पुनः घटेको छ। आइतबार चुनावी सरगर्मी सुरु हुँदा बजारमा पनि सकारात्मक प्रभाव परेको लगानीकर्ताहरूको दाबी थियो। तर, सोमबार बजार पुनः सम्हालिन सकेन। यतिवेला बजारले १८ सय अंकको टेवा परीक्षण गरिरहेको छ।
कारोबारमा आएका १३ समूहको सूचकमध्ये म्युचुअल फन्ड समूह मात्र हरियो बनेको छ। यस दिन विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन समूहका लगानीकर्ता निराश बन्न पुगेका छन्। कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुग्न सकेको छैन। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ कम्पनीको ३१ लाख ५५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ९७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस दिन सर्वाधिक सेयर किनबेच हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ। कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी र लुम्बिनी विकास बैंकको २० करोड रुपैयाँदेखि दुई करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ।
सोमबार गरिमा ऋणपत्र, सिभिल लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक ऋणपत्र, कर्णाली डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य पाँच प्रतिशतदेखि ८ प्रतिशतसम्मले घटेका छन्।
घटेको बजारमा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तैगरी एनएमबी हाइब्रिड फन्ड, ग्लोबल आइएमई ब्यालेन्स फन्डको तीन प्रतिशतले बढेको छ।