सिराहामा दुई वहालवाला मन्त्रीसहित विभिन्न राजनीतिक दलका उम्मेदवारले पुनः प्रदेश सांसदका रूपमा निर्वाचित भएर दोहोरिन उम्मेदवारी दर्ता गराएका छन् ।
आठवटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लाभरि एक सय २९ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा पुनः दोहोरिने गरी पाँच निवर्तमान सांसदले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
निवर्तमान सांसदहरू क्षेत्र नम्बर १ (ख) अशोककुमार यादव (एकीकृत समाजवादी), क्षेत्र नम्बर २ (क) विजयकुमार यादव (जसपा नेपाल), २ (ख) मदनसेनप्रसाद श्रीवास्तव (एकीकृत समाजवादी), क्षेत्र नम्बर ३ (ख) प्रमोदकुमार यादव (एकीकृत समाजवादी) र क्षेत्र नम्बर ४ (ख) सुरेश मण्डल (जसपा नेपाल)ले यसपटक पनि उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गराउनेमा दुईजना बहालवाला मन्त्रीसमेत छन्। क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दर्ता गराएका विजयकुमार मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् भने क्षेत्र नम्बर ३ (ख)बाट उम्मेदवारी दर्ता गराएका प्रमोदकुमार कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री हुन्।
यस्तै, क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बनेका सुरेशकुमार पूर्वपर्यटन, वन तथा वातावरण राज्यमन्त्री हुन्। सिराहा क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवारी दर्ता गराएका मदनसेन मधेस प्रदेशको कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति रहेका छन्।