कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जलमापन केन्द्र चिसापानीकी गेजरिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०.८ पुगेमा खतरा तह पार भएको मानिन्छ ।
कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुला भरिएको छ । रानीकुला बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौँ घर डुबानमा परेका छन् । कर्णालीमा बाढी बढ्दा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका प्रभावित हुने गरेका छन् । जानकी गाउँपालिका– ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ । रानीकुलामा पानीको बहाव बढेकाले वडा नम्बर ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ । गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मुतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको गाउँपालिकाले जनाएको छ ।
रानीकुलामा आएको बाढीले टीकापुर नगरपालिका– १ को शक्तिनगर, वडा नम्बर २ को विजयनगर र वडा नम्बर ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको छ । वडा नम्बर ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेकाे बताइएको छ । टीकापुर– ५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू बताउँछन् । ‘बाढी आउने जोखिम बढ्यो, तल्लो क्षेत्रका नागरिक सार्ने काम सुरु गरेका छौँ, सबैलाई रातिको समयमा घर छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ,’ उनले भने, ‘अब एक–आपसमा सहयोग गर्ने हो, सुरक्षित रहने काम गरौँ ।’
कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ । पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरी बताए । प्रमुख जिल्ला अधिकारी किरण थापाले तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेका बताए।
भजनी नगरपालिकाको पथरैया नदी गाउँ पसेपछि सयभन्दा बढी परिवार हुलाकी सडकमा तीन दिनदेखि बसिरहेका छन् । हुलाकी सडकमा बसिरहेकाहरू भोकभोकै वस्तुभाउसहित बस्नुपरेको छ। सडकमा बसेकाहरूमा निरन्तरको वर्षाका कारण चिसो तथा अन्य स्वास्थ्य समस्यासमेत सुरु भएको बताइएको छ। भजनीका स्थानीय जयप्रसाद ढुंगानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताए। उनले भोकभोकै पानीमा भिज्दै बाढीपीडितले दिन काटिरहेका बताए। बाढीले भजनीमा सयौँ परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन्। कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ ।