वास्तविक मित्र

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

एक व्यक्तिका अत्यन्त मिल्ने तीन मित्र थिए । तीनै मित्रले जीवनभर उनको साथ दिए । कहिल्यै साथ छाडेनन् । रहँदाबस्दा उनको मृत्युको समय नजिक आइपुग्यो । उनलाई पनि आफू अब धेरै नबाँच्ने आभास भयो । त्यसैले एक दिन उनले आफ्ना तीनै मित्रलाई नजिक बोलाए र भने– मित्रहरू ! तिमीहरू तीनैले मेरो जीवनभर एकछिन साथ छाडेनौ । जहिल्यै साथ दियौ । अब मेरो जाने समय आयो । के अब तिमीहरू मृत्युपछि पनि मेरो साथ दिन्छौ त ? 

पहिलो मित्रले भने– हेर मित्र, मैले जीवनभर तिम्रो साथ दिएँ । तर, अब म तिमीलाई कुनै सहयोग गर्न सक्दिनँ । म विवश छु । मेरो साथ पाउने आशा नगर । दोस्रो मित्रले भने– मृत्यु जीवनको अन्तिम र निर्विकल्प सत्य हो । त्यसैले, म तिम्रो मृत्यु रोक्न सक्दिनँ । मैले हरेक परिस्थितिमा तिम्रो साथ दिएको छु । त्यसैले, तिम्रो मृत्युपछिको अन्तिम संस्कार राम्रोसँग होस् भन्नेमा भने म विशेष ध्यान दिनेछु ।

तेस्रो मित्रले भने– ठीक छ मित्र, तिमी चिन्ता नगर । मैले जीवनभर त तिम्रो साथ दिएँ नै ! अब तिम्रो मृत्युपछि पनि म तिम्रो साथमै हुनेछु । म तिम्रो साथ छाडेर कतै जानेछैन । त्यसैले तिमी निश्चिन्त होऊ । मनुष्यका यी तीन मित्र हुन्– पहिलो धन, दोस्रो परिवार र तेस्रो कर्म । यी तीन मित्रमध्ये कर्म मात्र मृत्युपछि पनि मनुष्यको साथमै रहन्छ । त्यसैले, कर्म नै मनुष्यको वास्तविक र सच्चा मित्र हो ।

सुझावित समाचार