रुपन्देही–५ मा एमालेका २ उम्मेदवार, बिहान वासुदेव र दिउँसो खिमलाललाई टिकट

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नं ५ मा एमालेका दुई उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्। आइतबार बिहानसम्म रुपन्देही क्षेत्र नं ५ को उम्मेदवार टुंग्याउन नसकेको एमालेले तिलोतमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेलाई टिकट दिएको थियो। 

टिकट पाएलगतै उम्मेदवारी दर्ता गराएका घिमिरेको केही समयमै टिकट खोसिएको हो। घिमिरेको स्थानमा खिमलाल भट्टराईले टिकट पाएका थिए। पछि घिमिरेलाई दिइएको टिकट सच्याएर खिमलाल भट्टराईलाई दिएको पत्र आएलगतै निर्वाचन अधिकृतको कार्यालयले खिमलाल भट्टराईको उम्मेदवारी दर्ता गरेको जनाएको छ।

आइतबार दिउँसो ३ बजेर ३० मिनेटमा वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए। पछि सच्याएर फेरि ४ बजेर ४५ मिनेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन अधिकृतको कार्यालयले दुवैजनालाई उम्मेदवारी दर्ता प्रमाण उपलब्ध गराएको थियो।

उम्मेदवारी दर्ता गरेलगतै घिमिरेले आफू आधिकारिक उम्मेदवार भएको भन्दै सूर्य चिह्नमा मतसमेत मागेका थिए। एमाले रुपन्देही प्रचार विभागका सदस्य डिआर घिमिरेले वासुदेव घिमिरेको टिकट खारेज गरेर खिमलाल भट्टराईको कायम रहेको जानकारी दिए।

सुझावित समाचार