अविरल वर्षाले बर्दियामा दुई सयभन्दा बढी घर डुबानमा

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा दुई सयभन्दा बढी घर डुबानमा परेका छन्। 

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन्। अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो। 

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरूको महान् पर्व बडादसैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरू बताउँछन्। बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताए। 

त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरू र खेतबारी भने बगाएको बताए। उनले घरहरू डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्न सक्ने अवस्था नरहेको बताए। 

आज दिउँसो लुम्बिनी  प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। 

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ। 

सुझावित समाचार