ओलीले भने– जनविरोधी गठबन्धनलाई पछार्छौँ

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ४ मंसिरको निर्वाचनपछि जनताको आदेश नभएको सरकारलाई पछारेर एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गरेका छन्।

झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी मनोनयनपछि दमकमा भएको सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन देशघाती भएको र यसलाई पछार्ने बताए। यो निर्वाचनले ठूलो फैसला गर्ने उनको दाबी छ।

‘अब ४ मंसिरको निर्वाचनपछि जनताको आदेश नभएको, जनविरोधी, देशघाती गठबन्धनलाई पछारेर फेरि हामीले देशभक्त लोकतान्त्रिक विकासको अभियन्ता सरकार बनाउनुपर्नेछ,’ उनले भने, ‘यो निर्वाचनले ठूलो फैसला लिनुपर्नेछ। यसका लागि सबै तयार हुनुपर्छ।’

उनले यसवेलामा भ्रमपूर्ण, साम्प्रदायिक, क्षेत्रीयता र अनेक प्रकारका भ्रमपूर्ण कुरा छर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे। छोटो सम्बोधन गरेका ओलीले ०७४ को निर्वाचनपछि बनेको आफू नेतृत्वको सरकारले धेरै काम गरेको जिकिर गरे।

‘देश विकास गर्याैँ। गुमेको भूभाग फर्काएर नक्सा सार्वजनिक गर्याैँ। नक्सा अनुमोदन गरेर संवैधानिक रूप दियौँ,’ ओलीले भने, ‘उनीहरूले आफ्ना निम्ति काम गर्ने आरामदायी सरकार भइदिन्छौँ भनेर कबुल गरेर सरकार बनाए।’ उनले १५ महिनामा यो सरकारले देशलाई अधोगतितर्फ लगेको आरोप लगाए।

सुझावित समाचार