एमाले कञ्चनपुरमा टिकट विवाद उत्कर्षमा, पार्टी परित्यागदेखि आफ्नै उम्मेदवारविरुद्ध चुनाव लड्ने घोषणा

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण
एमाले कञ्चनपुरमा टिकट विवाद उत्कर्षमा, पार्टी परित्यागदेखि आफ्नै उम्मेदवारविरुद्ध चुनाव लड्ने घोषणा

एमाले त्यागेका खेम सुवेदी, टेक हमाल र जयराज पाण्डे

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट वितरणलाई लिएर एमाले कञ्चनपुरभित्रको विवाद उत्कर्षमा पुगेको छ । एमालेले सिट बाँडफाँड र टिकट वितरण गरेसँगै जिल्लामा विवाद देखिएको हो।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यतर्फ सिफारिस भएका एमाले नेता–कार्यकर्ता भटाभट राजीनामादेखि स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन्। टिकट वितरण गरेको दोस्रो दिनसम्म तीन नेताले राजीनामा दिँदै पार्टी परित्यागको घोषणा गरेका छन्।

क्षेत्र नम्बर १ बाट संघीयतर्फ सिफारिस भएका पुराना एमाले नेता खेम सुवेदीले राजीनामा दिएका छन्। बेलौरी– ८ पचुईका स्थानीय सुवेदी झन्डै चार दशकदेखि एमाले राजनीतिमा सक्रिय रहँदै आएका थिए। एमाले सुदूरपश्चिम प्रदेश सदस्य तथा अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम  प्रदेश संयोजकसमेत रहेका सुवेदीले स्वतन्त्र भएर बस्ने भन्दै प्रदेश कमिटीलाई राजीनामापत्र बुझाएका छन्।

०६४ सालदेखि यताका निर्वाचनमा सिफारिस हुने, तर अन्तिममा टिकट अन्य व्यक्तिलाई दिँदा सुवेदीनिकट नेता–कार्यकर्ताले पार्टीले उनीमाथि घात गरेको बताएका छन्। एमालेले क्षेत्र १ बाट सुवेदीसहित वीरबहादुर थापा (पातल) र तारा लामा तामाङलाई सिफारिस गरेको थियो। एमालेले तामाङलाई संघ र थापालाई प्रदेशको टिकट दिएको छ। तर, थापासमेत आफू सिफारिस भएकोभन्दा तल्लो तहको टिकट दिइएको भन्दै रुष्ट देखिएका छन्। क्षेत्र १ मा संघतर्फ अवसरवादीलाई टिकट दिएको भन्दै नेता–कार्यकर्ताले असन्तुष्टि पोखिरहेका छन्।

एमाले क्षेत्र २ (क)बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका प्रदेश सभा सदस्यद्वय जयराज पाण्डे र टेक हमालले पनि पार्टीले घात गरेको भन्दै राजीनामा दिएका छन्। उनीहरूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। कृष्णपुर शुक्लाफाँटाका स्थानीयद्वय पाण्डे र हमालले टुरिष्ट नेतालाई टिकट दिएर आफूहरूको अपमान गरेको भन्दै पार्टी परित्याग गरेका हुन्। क्षेत्र २ बाट संघतर्फ सिफारिस भएका एमाले युवा नेता वचनबहादुर सिंहलाई पार्टीले २ (क)मा टिकट दिएको छ। बेदकोट नगरका स्थानीय सिंहलाई कृष्णपुर शुक्लाफाँटामा टिकट दिएको भन्दै उनीहरू रुष्ट देखिएका छन्।

यता, क्षेत्र ३ (क)मा एमालेले राप्रपालाई समर्थन गरेको भन्दै एमाले नेता नन्दलाल चटौत रुष्ट देखिएका छन्। ‘पार्टीले टिकट मेरो नाममा दियो,’ उनले भने, ‘केही नेताले राप्रपालाई सो सिट दिए।’ एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले राजावादी लिगेसी बोकेको र विचार नै नमिल्ने दलसँग चुनावी कार्यगत एकता नहुने भन्दै स्वतन्त्र उम्मेदवारी दिनेदेखि पार्टीकै आधिकारिक उम्मेदवारलाई टिकट दिलाइने बताए। एमाले कञ्चनपुरमा क्षेत्र ३ (ख)बाट जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट र २ (ख)बाट केन्द्रीय सदस्य कृपाराम रानाको मात्रै एकल सिफारिस भएको थियो।
 

सुझावित समाचार