मकवानपुरमा कांग्रेसबाट डिना, इन्द्र र आनन्दलाई टिकट

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट मकवानपुरमा उम्मेदवारी टुंगो लागेको छ । मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको नाम टुंगो लागेको भए पनि प्रदेश सभा सदस्यको टिकटका लागि १ को (ख) मा लामो रस्साकस्सी चलेको थियो । 

अन्ततः १ को (ख) मा नेपाली कांग्रेसका तर्फबाट आनन्दराम पराजुलीले टिकट पाएका छन् । पराजुलीले जिल्ला सभापति बुद्ध लामालाई पछि पार्दै टिकट हात पारेका हुन् । यस क्षेत्रमा जिल्ला सभापति लामा र पराजुलीको दाबी रहेको थियो ।

पराजुली यसअघिको महाधिवेशनमा मकवानपुर कांग्रेसको पार्टी सभापति र ०७४ मा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि प्रत्याशी रहेका थिए । पार्टी सभापतिको दोस्रो चरणमा लामालाई समर्थन गरेका पराजुली मेयर पदमा भने एमालेका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए ।

यस्तै, नेपाली कांग्रेसले पाएको मकवानपुर– २ को (ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ उम्मेदवार बन्ने भएका छन् ।

यसअघि ०७४ को निर्वाचनमा पनि बानियाँ यसै क्षैत्रबाट एमालेका राजराम स्याङ्तानलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनी हाल नेपाली कांग्रेस बागमती प्रदेशको सभापति छन् भने पदावधि सकिएको प्रदेश सभामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता रहेका थिए ।

सुझावित समाचार