ओलीको निषेधको नीतिले एमालेमा खैलाबैला

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

पूर्वउपमहासचिव भुसालले पार्टी त्यागे, एकल सिफारिस भएका पूर्व उपाध्यक्ष रावललाई टिकट नदिएपछि अछामका ४० जिल्ला नेताको सामूहिक राजीनामा

अध्यक्ष केपी ओलीले पार्टीभित्रको अन्तर्संघर्षमा फरक मत राख्ने नेतालाई टिकट वितरणमा निषेधको नीति लिएपछि एमालेमा असन्तुष्टि चुलिएको छ । पूर्वउपमहासचिव घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् भने पूर्वअध्यक्ष भीम रावल आइतबार बिहानसम्म अन्तिम निर्णय गर्ने तयारीमा छन् ।

रावल र भुसालले पछिल्लो समयसम्म पनि अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आलोचना गर्दै आएका थिए । तल्ला कमिटीबाट उम्मेदवारका लागि नाम सिफारिस भए पनि उनीहरूले टिकट पाएनन् । महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालको सहयोगमा अध्यक्ष ओलीले टिकट वितरणको अन्तिम निर्णय लिएका हुन् ।

अध्यक्ष ओलीले टिकटमा निषेध गरेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको क्षेत्रीय कमिटीले अछाम १ बाट एकल उम्मेदवार सिफारिस गरेको थियो । रावललाई टिकट नदिएको भन्दै क्षेत्रीय कमिटी अध्यक्ष प्रकाश शाहसहित ४० जना जिल्लास्तरीय नेताले पार्टी नै परित्याग गरेका छन् । 

रावलको साटो सिफारिस नै नभएका पूर्वमाओवादी पृष्ठभूमिका झपट बोहरालाई टिकट दिइएको छ । सुदूरपश्चिम सरकारका पूर्वमन्त्री बोहरा तत्कालीन नेकपा विभाजन हुँदा माओवादीतिर नगएर एमालेमै बसेका थिए । रावलको ठाउँमा कृष्णप्रसाद जैसी उम्मेदवार हुन नचाहेपछि बोहरालाई नै टिकट दिइएको छ । 

अघिल्लो मंसिरमा चितवनमा सम्पन्न एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा रावलले अध्यक्षमा ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । त्यसयता पार्टीको कुनै जिम्मेवारीमा नरहेका रावललाई सम्पर्कमा नआएकै कारण ओलीले प्रतिशोध साँधेको एमाले वृत्तमा चर्चा छ । उनीलगायत १० नेता २७ असार ०७८ मा १० बुँदे सहमति गरी एमालेमै बसेका थिए । १० बुँदे सहमति जुटेपछि एकीकृत समाजवादीतिर नलागेर एमालेमा बसेका रावलजस्तै पूर्वउपमहासचिव भुसाललगायत कतिपय नेतालाई पनि ओलीले टिकट दिएनन् ।

भुसालको नाम रुपन्देही ३ बाट सिफारिस भए पनि सो क्षेत्र एमालेले तालमेल गरेर राप्रपालाई सुम्पिएको छ । भुसालको रुचि रहेको रुपन्देही १ बाट पार्टी सचिव छविलाल विश्वकर्मालाई टिकट दिइएको छ । अध्यक्ष ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै भुसालले शनिबार सामाजिक सञ्जालमा लामो वक्तव्य दिएर पार्टी परित्याग गरेका छन् ।

मधेस प्रदेशमा एमालेको प्रमुख सचेतक रहेका किशोरी साह (कमल)ले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाका लागि टिकट नदिएपछि उनले शनिबार पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र वा जनमत पार्टीबाट उम्मेदवारी दिने बताए । उनलाई सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फको उम्मेदवार बनाउने बताएको छ । 

नयाँ पत्रिकासँग कुराकानी गर्दै नेता साहले भने,‘पार्टीमा नातावाद कृपावाद हाबी भयो, मधेस प्रदेसमा पार्टीभित्र एक परिवारको वर्चस्व छ । अध्यक्ष ओलीलाई गुनासो गरे पनि कुनै सुनुवाइ भएन । त्यसकारण पार्टी परित्याग गरेको छु ।’ 

सिन्धुलीका केशवप्रसाद देवकोटाले पनि शुक्रबार सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका छन् । 

झापा २ मा पवित्रा निरौला खरेल, झापा १ मा रविन कोइराला प्रतिनिधिसभाबाट टिकट पाउन वञ्चित भएका छन् । कोइरालालाई प्रदेश सभाबाट टिकट दिने निर्णय गरिएको छ भने खरेल निर्वाचित क्षेत्रबाट देवराज घिमिरेलाई उठाउने निर्णय भएको छ । तर, कोइरालाले भने निर्णय स्वीकार गरेका छैनन् । डोटीमा सिफारिसमा नरहेकी गौरी वलीलाई टिकट दिइएपछि जिल्ला अध्यक्ष चक्र मल्ल वञ्चित भएका छन् । उनी पनि तत्कालीन अन्तर्विरोधमा माधव नेपाल समूहमा थिए । 

त्यस्तै, कञ्चनपुर ३ मा निवर्तमान सांसद डा. दीपकप्रकाश भट्ट, सिन्धुपाल्चोकमा अरुण नेपाल पनि टिकट पाउनबाट वञ्चित भएका छन् । भट्टको निर्वाचन क्षेत्रबाट युवा संघकी तत्कालीन अध्यक्ष निरु पालले टिकट पाएकी छिन् । पालसँगै सिफारिस भएका भट्टको नाम जिल्लाबाट सिफारिस भए पनि केन्द्रमा पठाउँदा प्रदेशबाटै हटाइएको थियो भने नेपालको नाम जिल्लाबाटै सिफारिस भएको थिएन । 

त्यस्तै, तत्कालीन अन्तर्विरोधमा माधव नेपाल समूहमा रहेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि टिकट पाएनन् । उनको निर्वाचन क्षेत्र दैलेखमा निवर्तमान सांसद लक्ष्मी पोखरेललाई टिकट दिइएको छ । स्थानीय जनप्रतिनिधिको पृष्ठभूमि हुँदै संघीय सांसदसमेत बनिसकेका सिन्धुलीका गणेश पहाडी जिल्लाबाटै सिफारिसमा परेनन् । उनको निर्वाचन क्षेत्रमा प्रदीप कटुवालले टिकट पाएका छन् । 

पार्टीभित्र विवाद हुँदा माधव नेपाल (हाल एकीकृत समाजवादीका अध्यक्ष)लाई खुलेर साथ दिएका १० नेताले अन्तिम समयमा १० बुँदे सहमति गरेर एमालेमै रहने निर्णय गरेका थिए । 

रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको तयारी
अध्यक्ष केपी ओलीले टिकट वितरणमा निषेध गरेपछि पार्टी परित्याग गरेका पूर्वउपमहासचिव घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । सत्तागठबन्धनले सो क्षेत्रमा उम्मेदवारी रिक्त राखेपछि भुसालले उनीहरूकै सहयोगमा प्रतिनिधिसभामा स्वतन्त्रबाट उम्मेदवारी दिने गरी तयारी थालेका हुन् । 

‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर, म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ पार्टी परित्याग गर्दै भुसालले सामाजिक सञ्जालमा लेखेका छन् । राष्ट्रको सर्वोपरी हितका लागि उत्तिकै सक्रिय रहने भन्दै उनले सत्य र सही बाटोको खोजमा इतिहासको कुनै बिन्दुमा पुनः भेट हुने वक्तव्यमा स्मरण गराएका छन् । 

भुसालको वक्तव्यमा भनिएको छ, ‘देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्तविपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागत रूपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ ।’

ओलीलाई साथ नदिने यी नेताले पाए टिकट 
तत्कालीन नेकपाभित्रको अन्तर्विरोधमा माधव नेपाललाई साथ दिएका एक दर्जनजति नेताले भने टिकट पाएका छन् । पदाधिकारीमध्ये उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन १ बाट, सचिव योगेश भट्टराईले ताप्लेजुङबाट र गोकर्ण विष्टले गुल्मी २ बाट टिकट पाएका छन् । पूर्वसचिव भीम आचार्यले सुनसरी २ बाट टिकट पाएका छन् ।

त्यस्तै, ओखलढुंगाबाट यज्ञराज सुनुवार, पाल्पा २ बाट ठाकुर गैरे, नुवाकोट २ बाट नारायण खतिवडा, चितवन २ बाट कृष्णभक्त पोखरेल, कैलाली २ बाट झपट रावल, जाजरकोटबाट नीरज आचार्य र समानुपातिकतर्फ रघुजी पन्तले टिकट पाएका छन् । उनीहरू सबै १० बुँदे पक्षधरका नेता हुन् । त्यस्तै, विभाजनका वेला एकीकृत समाजवादीतिर लागेर फर्किएका तारा लामाले पनि कञ्चनपुर १ बाट टिकट पाएका छन् ।

शाक्य पछि हटिन् 

अध्यक्ष केपी ओलीले आग्रह गर्दा पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चुनाव लड्न अस्वीकार गरेकी छिन् । काठमाडौं ८ बाट उठाउने निर्णय भए पनि उनले अध्यक्ष ओलीलाई टेलिफोनमार्फत आफू पछि हटेको जानकारी दिँदै विकल्प खोज्न सुझाव दिएकी छिन् । 

शाक्यले नयाँलाई अवसर दिन संसदीय राजनीतिबाट बिदा लिएर पार्टी राजनीति मात्रै गर्ने बताएकी छिन् । दशबुँदे सहमतिसँगै एमालेमै रहेका उपाध्यक्ष युवराज ज्ञवाली भने दाङ ३ बाट सिफारिस भए पनि चुनाव नलड्ने घोषणासहित पछि हटिसकेका छन् । 

पूर्वमाओवादी समूहलाई टिकट 
नेकपा विभाजन हुँदा एमालेमै रहेका पूर्वमाओवादी समूहका केही नेताले भने प्रत्यक्षतर्फ टिकट पाएका छन् । टोपबहादुर रायमाझीले अर्घाखाँची, लेखराज भट्टले कैलाली ४, गौरीशंकर चौधरीले कैलाली ३ र प्रभु साहले रौतहट ३ बाट टिकट पाएका छन् । उपाध्यक्ष रामबहादुर थापालाई काठमाडौं १० बाट उठाउने तयारी छ ।

कांग्रेस र एकीकृत समाजवादीमा पनि असन्तुष्टि चुलिँदै 
छुट्टै उम्मेदवारीदेखि बहिष्कार गर्नेसम्मको चेतावनी 

सिट बाँडफाँडको टुंगो लागेसँगै कांग्रेस र एकीकृत समाजवादीभित्र पनि असन्तुष्टि बढेको छ । जिल्ला समितिदेखि टिकट नपाएका नेता–कार्यकर्तासम्मले छुट्टै उम्मेदवारी दिने वा बहिष्कार गर्ने चेतावनी दिएका छन् । 

कांग्रेसको खोटाङ जिल्ला कार्यसमितिले शनिबार एकल उम्मेदवारी दिने निर्णय गरेको छ । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले पनि गठबन्धनका उम्मेदवारको पक्षमा भोट नमाग्ने घोषणा गरेका छन् । यो क्षेत्रमा जनमोर्चाकी दुर्गा पौडेल उम्मेदवार छिन् । 

त्यस्तै, सुर्खेतमा कुनै पनि क्षेत्र भाग नपरेपछि एकीकृत समाजवादीले गठबन्धन तोड्ने र प्रतिनिधिसभाका दुई तथा प्रदेशका चारवटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छ । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा पनि संघ र प्रदेश कतै पनि सिट नपाएपछि नेताहरूले गठबन्धन तोडेर एक्लै निर्वाचन लड्ने बताएका छन् ।

See More On

सुझावित समाचार