बाँके चौफेरीका डुबानपीडित ७५ घरपरिवारलाई स्थानान्तरण

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। 

वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँनजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।  
    
उहाँका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो। अधिकृत ज्ञवालीले भने, ‘चौफेरी गाउँका दर्जनौँ घरमा पूर्ण क्षति भएको प्रारम्भिक जानकारी छ, अझै पनि वर्षा रोकिएको छैन, बाढी घटेपछि मात्रै क्षतिको विवरण संकलन गर्न सकिन्छ, अहिले पहिलो प्राथमिकता भनेको मानिसलाई सुरक्षित राख्ने हो।’ 
    
बाँकेका तल्लोतटीय क्षेत्रका करिब तीन सय घर डुबानमा परेका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ।

वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात, लत्ताकपडा भिजेर क्षति पुर्याएको स्थानीयवासी गणेश गुप्ताले बताए।  
    
राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँवासी त्रस्त छन्। घरभित्र पानी पसेपछि गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा राखिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेको छ।    

वर्षाका कारण राप्ती नदीले खतराको तह पार गरेको छ। लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच दशमलव ९५ मिटर पार गरेको छ।

राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह पाँच दशमलव ९५ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ।   

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने हुँदा आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आग्रह गरे।  
    
राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ।

नेपालगन्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ। अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ। 
 

सुझावित समाचार