लगातारको वर्षाले नारायणी नदीमा पानीको बहाब बढ्यो, गण्डकका ३६ मध्ये २२ वटा ढोका खोलिए

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

तीन दिनदेखिको लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । नदीको सतह खतरानजिक पुगेपछि नेपाल र भारततर्फमा रहेका ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

‘गण्डक ब्यारेजको विषयमा भारत र नेपालका अधिकारीबीच समन्वय भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘आवश्यकताअनुसार थप ढोका खोलिनेछ । तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन र सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न आग्रह गरिएको छ ।’

पानीको बहाव हेरेर बाँकी रहेका ढोका पनि खोलिने विषयमा छलफल भइरहेको उनले बताए । ब्यारेजमा बिहीबार बिहान साढे ८ बजे दुई लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ । चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ ।
 

सुझावित समाचार