नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण

म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ। 

यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदै छ।

जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ।  

समितिका अध्यक्ष दिनेश केसीले भलिबल सञ्चालन हुने बेनीको खुल्लामञ्च खेलमैदानमा दुईवटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङरोगन गरिएको जानकारी दिए। 

‘खेलमैदानको ढुंगासहितको माटो खनेर फालेर बाहिरबाट माटो ल्याएर हाली रोलरले फेलेर सम्माएका छौँ,’ उनले भने, ‘बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ लगाउने काम सकिएको छ।’

राखेपले पठाएको रु. पाँच लाख बजेटबाट खुल्लामञ्चमा खेलमैदान तयार पारिएको हो। 

तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुलको कबर्डहलमा पंखा, बत्ती जडान, शौचालय, शयनकक्ष मर्मत, रङरोगन र भवनअगाडि ढलान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताए।  

बेनी नगरपालिकाले विनियोजन गरेको रु. तीन लाख बजेटबाट तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुल कबर्डहलको मर्मत गरिएको हो।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६ सय १७ जना म्याग्दीमा आउँदै छन्।  होटेल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटेल व्यवस्थापन भएको छ।

बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाइ, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन्।  

सुझावित समाचार