देशभर ६० हजार औद्योगिक प्रतिष्ठान, ४० प्रतिशत मात्रै पूर्ण क्षमतामा सञ्चालन

सवा ६ खर्ब लगानीमा उत्पादनशील औद्योगिक प्रतिष्ठानबाट आठ खर्ब ६१ अर्बको वस्तु उत्पादन

बिहिबार, १३ असोज, २०७९
डिजिटल संस्करण

देशभर रहेका औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, ०७६ अनुसार ६० प्रतिशत औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग भएको छैन ।

तथ्यांक विभागले खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकला गरी चार क्षेत्रका औद्योगिक प्रतिष्ठानको सर्वेक्षण गरेको हो । सर्वेक्षण अवधिमा देशभर ६० हजार एक ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ६५, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा क्षेत्रमा ९९४ र पानीको आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्रमा दुई हजार दुई सय २४ उद्योग प्रतिष्ठान रहेका छन् ।

१० भन्दा बढी व्यक्ति संलग्न भएका उत्पादनशील औद्योगिक प्रतिष्ठानको संख्या ०६९ सालमा चार हजार ७६ रहेकोमा उक्त संख्या २३ प्रतिशतले बढेर यस सर्वेक्षणसम्म आइपुग्दा पाँच हजार १७ पुगेको देखिन्छ । यस सर्वेक्षणमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानमध्ये करिब ७६ प्रतिशत दुई सय ७० दिनभन्दा बढी सञ्चालनमा आएका छन् । त्यस्तै, १९ प्रतिशत उद्योग एक सय ८० दिनदेखि दुई सय ६९ दिन, चार प्रतिशत उद्योग ९० देखि एक सय ७९ दिन र बाँकी एक प्रतिशत उद्योग ९० दिनभन्दा कम सञ्चालन भएको अध्ययनले देखाएको छ ।

औद्योगिक क्षेत्रका चारवटै उद्योग प्रतिष्ठानको करिब ६ खर्ब १९ अर्ब मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ । सन्दर्भ अवधिमा चारवटै औद्योगिक क्षेत्रका प्रतिष्ठानहरूले करिब आठ खर्ब ४६ अर्ब ६६ करोड लगानी गरी १२ खर्ब एक अर्ब मूल्यबराबरको वस्तु तथा सेवा उत्पादन गरेका छन् । यसलाई आधार मान्दा चारवटै औद्योगिक प्रतिष्ठानले देशको अर्थतन्त्रमा करिब तीन खर्ब ५४ अर्ब ५१ करोडबराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ ।

देशको अर्थतन्त्रमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको दुई खर्ब ३५ अर्ब ३३ करोडबराबरको मूल्य अभिवृद्धि गरेको देखाएको छ । जब कि, ०६९ सालमा ठूला उत्पादनशील उद्योगले अर्थतन्त्रमा ८० अर्ब ७८ करोडबराबरको मूल्य अभिवृद्धि गरेका थिए । चारवटै समूहका ठूला उत्पादनशील उद्योग प्रतिष्ठानले ६ खर्ब २५ अर्ब ७२ करोड रुपैयाँ लागतको रूपमा खर्च गरी करिब आठ खर्ब ६१ अर्ब मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणको नतिजाअनुसार चारै प्रकारका औद्योगिक प्रतिष्ठानमा रहेका तलबी कामदारको संख्या तीन लाख ८१ हजार ६ सय ८७ रहेको छ । यीमध्ये सबैभन्दा धरै आद्योगिक उत्पादनशील क्षेत्रमा तीन लाख ४६ हजार एक सय ४३ रहेको देखिन्छ । चारवटै औद्योगिक प्रतिष्ठानमा कार्यरत तलबी कामदारका लागि तलब तथा ज्याला र सुविधामा गरेको खर्च करिब एक खर्ब सात अर्ब ८९ करोड रहेको छ । यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा एक खर्ब ८० अर्ब, औद्योगिक उत्पादन क्षेत्रमा ९५ अर्ब ७७ करोड, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा क्षेत्रमा ६ अर्ब ९२ करोड र पानी, ढल निकास तथा फोहोर व्यवस्थापनको क्षेत्रमा तीन अर्ब ४० करोड रकम कामदारको तलब, ज्याला तथा सुविधामा खर्च भएको अध्ययनले देखाएको छ ।

सर्वेक्षणले ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकबाट ऋण नलिएको, नभएको र ऋण लिने प्रक्रियामा पनि नभएको देखाएको छ । साना उत्पादनशील औद्योगिक प्रतिष्ठानमध्ये करिब ३४ प्रतिशतले मात्र वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ भने एक प्रतिशतले प्रतिबद्धता प्राप्त गरेको देखिन्छ । यस्तै, पाँच प्रतिशत उद्योग प्रतिष्ठान ऋण लिने प्रक्रियामा रहेको देखिन्छ ।

कोभिड महामारीमा सरकारले गरेको चार महिनाको लकडाउन अवधिमा करिब ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । यस्तै, २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिक रूपमा र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा सञ्चालनमा रहेका थिए । लकडाउनकै कारण १७ प्रतिशत कामदारले विनासुविधा काम छाड्नुपरेको तथा ६० प्रतिशत कामदारले अस्थायी रूपमा कामबाट अलग हुनुपरेको देखिन्छ ।

सुझावित समाचार