गत भदौ पहिलो साता काठमाडौंकी २१ वर्षीया राधा चौधरी छाती अचानक दुख्न थालेपछि अस्पताल भर्ना भइन् । अत्यधिक छाती दुखाइसँगै चिटचिट पसिना आउन थालेपछि उनलाई तत्काल अस्पताल पुर्याइयो । परीक्षणका क्रममा हृदयाघात भएको पत्ता लागेपछि चिकित्सकले उपचार सुरु गरे । पाँच दिन उपचार गरेपछि डिस्चार्ज भइन् । हाल उनी नियमित चिकित्सकको सम्पर्कमा रहेर थप औषधि सेवन गरिरहेकी छिन् ।
चौधरीमा भएको हृदयाघात सामान्यभन्दा भिन्न प्रकृतिको भएको चिकित्सकहरू बताउँछन् । उनको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण मास्केका अनुसार चौधरीमा मायोकार्डियल इन्फेक्सन (हृदयाघात) भएको थियो । उनमा हृदयाघात अर्थात् कुनै किसिमका कोरोनरी जोखिमका कारण थिएनन् । चौधरीमा धमनीमा बोसो जमेर रगत प्रवाहमा आउने समस्याका कारण हुने हृदयाघात नभई एक्कासि धमनी च्यातिएर हृदयाघात भएको थियो । जसलाई एससिएडी अर्थात् अचानक हुने कोरोनरी धमनी विच्छेद भन्ने गरिन्छ ।
गत माघमा एससिएडी हृदयाघात भएकी ३२ वर्षीया रिता राई पनि मुटुको औषधि सेवन गरिरहेकी छिन् । अत्यधिक छाती दुखाइको लक्षण देखिएपछि सहिद गंगालाल अस्पताल पुगेकी उनमा पनि हृदयाघात भएको पत्ता लागेपछि १४ दिन अस्पताल भर्ना भएकी थिइन् । उनमा हृदयाघातका कुनै पनि लक्षण देखिएको थिएन । सामान्यतया मोटोपन, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, व्यायामको कमीजस्ता कारणले मुटुको धमनीमा शतप्रतिशत अवरोध भएर हृदयाघात हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । तर, राईमा भने यस्ता कुनै कारक नदेखिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
अकस्मात् हुने यस्तो किसिमको हृदयाघातको जोखिम युवा महिलामा बढ्दै गएको देखिएको छ । युवा महिलामा गर्भावस्था, औषधिको अत्यधिक प्रयोग, अत्यधिक व्यायाम, बान्ता, तीव्र भावनात्मक तनाव, माइग्रेन, टाउको दुखाई आदि कारणले एससिएडी हुने गरेको चिकित्सकहरू बताउँछन् । नेपालमा एससिएडीबारे पर्याप्त जानकारी नहुँदा यसको जोखिम बढ्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्केले बताए । ‘यो असामान्य हृदयघातको प्रकृति होइन । धमनी पूर्णतया अवरुद्ध भएर हुने हृदयाघात र धमनीको इन्टिमा च्यातिएर हुने हृदयाघात गरी दुई किसिमको हुने गर्छ । अकस्मात् धमनीको इन्टिमा च्यातिएर हुने हृदयाघातलाई एससिएडी भनिन्छ, जुन ५० वर्षभन्दा मुनि उमेरका महिलामा बढ्दै गइरहेको छ’, उनले भने ।
एससिएडी धमनी ब्लक गर्ने क्लटको कारणले हुने हृदयाघातको विपरीत हुने गर्छ । एससिएडी हृदयाघात धमनीको पर्खालमा हुने टियरबाट सुरु हुन्छ, जसले रक्तप्रवाह रोकेर हृदयाघात गराउँछ । एससिएडीलाई हाल युवामा बढ्दो हृदयाघातको मुख्य कारक मान्न थालिएको छ । कुल एससिएडी हृदयाघातको झन्डै ९० प्रतिशत महिलामा हुने यो हृदयाघात प्रभावितको यकिन तथ्यांक भने उपलब्ध छैन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार विश्वभर ५० वर्षमुनिका महिलामा हुने हृदयाघातको झन्डै ४० प्रतिशत हृदयाघात एससिएडीका कारण हुने गरेको छ । तर, यसको मृत्युदर तुलनात्मक रूपमा न्यून छ । पछिल्ला केही वर्षयता तीव्र रूपमा बढ्दै गएको एससिएडी हृदयाघात नेपालमा मात्रै नभई विश्वभर नै असामान्य हृदयाघातका रूपमा हेरिने गरेको पाइन्छ । अमेरिकन हर्ट एसोसिएसनले पहिलोपटक २०१८ फेब्रुअरीमा एससिएडीको वैज्ञानिक स्टेटमेन्ट जारी गरेको थियो ।
एससिएडी हृदयाघातबारे पर्याप्त जानकारीको अभावमा उपचार नहँुदा जोखिम बढिरहेको डा. मास्के बताउँछन् । ‘एलिभेसन मायोकार्डियल इन्फ्राक्सन भएको बिरामीको उपचारका लागि प्राथमिक एन्जियोप्लास्टीबाट उपचार सुरु गर्न सकिने भए पनि हृदयाघात भएको थाहा नहुँदा उपचारमा समस्या भइरहेको छ,’ उनले भने ।
प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिन्छन्
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिने गरेका छन् । नेपालमा हाल हृदयाघातबाट प्रभावितको वास्तविक तथ्यांक उपलब्ध छैन, तर अस्पतालहरूको तथ्यांक हेर्दा यो संख्या प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार पछिल्लो ६ वर्षमा हृदयाघातका बिरामी तीन गुणाले बढेको छ ।
देशभरबाट मुटुका बिरामी रिफर भएर आउने गंगालाल अस्पतालमा सन् २०११ देखि २०१५ सम्म हृदयाघात भएर आउने संख्या ४० प्रतिशतले बढेको पाइएको थियो । यस्तै, सन् २०१८ मा गरिएको अध्ययनले हृदयाघातका बिरामी प्रत्येक वर्ष बढ्दै गएको देखाएको थियो । हृदयाघातबाट हुने मृत्युदरसमेत उच्च रहेको तथ्यांकले देखाउँछ ।