धनगढीकी किशोरी नौ दिनदेखि बेपत्ता

खोजबिनमा प्रहरीले चासो नदिएको परिवारको गुनासो

बिहिबार, १३ असोज, २०७९
डिजिटल संस्करण

बैतडीको पाटन नगरपालिका– १ घर भई धनगढीमा परिवारसहित डेरा गरी बस्ने १९ वर्षीया प्रकृति चन्द बेपत्ता भएको नौ दिन बित्दा पनि प्रहरीले खोजबिनमा तदारुकता देखाएको छैन । खोजीको आग्रह गर्दै आएका परिवारका सदस्यलाई प्रहरीले उल्टै ‘छोरी पनि सम्हालेर राख्न नसक्ने’ भन्दै अपमानित गरेको छ । 

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययरत प्रकृति विशालनगरस्थित डेराबाट ४ असोजको बिहान कम्प्युटर कक्षा लिन भनेर निस्केकी थिइन् । त्यसयता उनी सम्पर्कविहीन छिन् । उनको मोबाइल अन्तिमपटक कञ्चनपुरको गड्डाचौकीसम्म ‘एक्टिभ’ रहेको देखिन्छ । 

सम्पर्कविहीन हुनुअघिका तीन दिन प्रकृति बैतडी घर भएका सागर चन्दको सम्पर्कमा थिइन् । उनीसँगै बसेको पनि परिवारले प्रहरीलाई जानकारी गराएको छ । तैपनि प्रहरीले सागरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छैन । बरु उनले अर्कै युवकसँग प्रकृति भारत गएर विवाह गरेको दाबी गरिरहेका छन् । जब कि परिवारलाई भने सम्पर्क गराएका छैनन् ।

वेपत्ता हुनुअघि तीन दिन प्रकृति सँगै बसेका र अहिले पनि उनका बारे ‘शंकास्पद्’ सूचनाबारे बाँडिरहेका सागर खुलेआम घुमिरहेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर गम्भीर अनुसन्धानन नगरेको पीडित परिवारको गुनासो छ । सागरकै समुहको योजना वा मिलेमतोमा प्रकृति वेपत्ता भएको उनीहरूको भनाई छ । ‘हामीले प्रहरीलाई खोजीका लागि आग्रह गर्दा उल्टै अपमानित हुने शब्द प्रयोग गर्‍यो । यता सागरले भारत गएर अर्कै युवकसँग विवाह गरेको भनेर अपुस्ट र शंकास्पद सूचना दिइरहेको छ । तर, हामी परिवारका मान्छेसँग कुार गराउँदैन,’ वेपत्ता किशोरीका बुवा लालबहादुर चन्दले भने, ‘सागरले नै प्रकृतिलाई झुक्याएर, अपहरण गरेर वा अरू दबाब दिएर जे पनि गरेको हुनसक्छ ।’

प्रहरीले उल्टै सागरलाई संरक्षण गरेको लालबहादुरको  भनाई छ । ‘सागरलाई नियन्त्रणमा लिएर प्रहरीले राम्ररी अनुसन्धान गरेको भए सबै कुरा सजिलै थाहा हुन्थ्यो । तर, प्रहरीले उल्टै उसलाई संरक्षण र हामीलाई अपमानित गर्ने काम गरिहेको छ, अनुसन्धानमा गम्भीरता नदेखाएका हामीलाई लागेको छ,’ उनले भने, ‘छोरी जिउँदै छ कि कस्तो अवस्थामा छ भन्ने चिन्ताले सुत्न सकेका छैनौं ।’

खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएको तर, प्रहरीले गम्भीरता नदेखाएको लालबहादुरले बताए । ‘नौ दिनसम्म बेपत्ता छोरीको अवस्थाबारे जानकारी नपाउँदा हामी कस्तो अवस्थाबाट गुज्रीरहेका होलौं ? हाम्रो अवस्था प्रहरीलाई केही पनि लागेन,’ उनले भने, ‘हामी सामान्य नागरिकले अब न्याय माग्न कहाँ जाने ?’

सूदुरपश्चिममा यसअघि कञ्चनपुर, बैतडी, बझाङलगायतका जिल्लामा किशोरी बलात्कार र हत्याका घटना धेरै भएका छन् । यसले पनि प्रकृतिका अभिभावकलाई डराइरहेको छ ।
सुदूरपश्चिममा प्रहरी प्रमुख डिआइजी मोहनकुमार आचार्य किशोरी हराएको घटनामा संवेदनशील भएर अनुसन्धान गर्न आफूले कैलाली प्रहरीलाई निर्देशन दिएको बताए ।

‘घटनालाई गम्भीरताका साथ हेर्न मैले सुरुमै निर्देशन दिएको थिएँ,’ उनले भने, ‘यस्ता घटनामा प्रहरीले गम्भीरताका साथ हेर्नुपर्छ, कैलाली प्रहरीसँग यसबारे थप बुझ्छु ।’ 

कैलालीका एसपी सोमेन्द्रसिंह राठौरले सूचना आएकै दिनदेखि किशोरीको खोजी भइरहेको दाबी गरे । भारतीय सुरक्षा अधिकारीसँग समेत खोजीका लागि समन्वय भइरहेको उनको भनाई छ । 
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले किशोरी हराएको घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको दाबी गरे । किशोरीले प्रयोग गर्ने फोन नम्बरको कल डिटेल र लोकेसन लिएर अनुसन्धान भइरहेको उनको भनाइ छ । 

गायिका जेरुसा राई ६ दिनेदेखि बेपत्ता 

ललितपुरको धोबीघाटबाट एकाएक बेपत्ता भएकी गायिका जेरुसा राईको अवस्था अझै खुल्न सकेको छैन । उनी गत ६ असोज साँझ साढे ७ बजे घर छाडेर हिँडेकी थिइन् । राति अबेरसम्म पनि घर नआएपछि परिवारका सदस्य खोजीमा जुटेका थिए । बेखबर भएकी उनको खोजीका निम्ति परिवारका सदस्यले भोलिपल्ट बिहानै जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसलगत्तै उनको खोजीमा प्रहरी जुटेको थियो । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जेरुसाको खोजीका क्रममा सबै संयन्त्र प्रयोग गरिएको बताए । ‘जेरुसा सम्पर्कविहीन भएको भन्दै हामीकहाँ ७ असोजमा उजुरी परेको हो । त्यसलगत्तै सम्भावित सबै ठाउँमा खोजी गर्‍यौँ । उनी जान सक्ने नातागोताकहाँ पनि सम्पर्क गर्‍यौँ, तर उनी फेला पर्न सकेकी छैनन् । प्रहरी खोजीमै छ,’ उनले भने ।

उजुरी परेपछि प्रहरीले उनको धोबीघाटस्थित घरको कोठा जाँच गरेको थियो । यस क्रममा उनको कोठामा प्रहरीले एउटा चिठी पनि बरामद गरेको थियो । चिठीमा ‘मैले मेरो जीवन बाँचिसकेँ । मेरो खोजी नगर्नु’ लेखेकी थिइन् । प्रहरीका अनुसार उनी लामो समयदेखि नसाको बिमारी थिइन् । यसक्रममा उनको ‘साइक्र्याकिट’ डाक्टरसँग पनि सोधपुछ भएको प्रहरीको भनाइ छ । 

सुझावित समाचार