गणित : रहस्यको प्रस्थान बिन्दु

गणित एउटा यस्तो कथा हो, जुन हजारौँ वर्षदेखि लेखिँदै आएको छ र यसमा सधैँ थपिइएको छ, यो कथा लेखेर कहिल्यै समाप्त नहुन पनि सक्छ

शनिबार, ८ असोज, २०७९
डिजिटल संस्करण

एक किशोरका रूपमा बिजगणित कक्षाको पहिलो साता मैले निकै अलमलसहित बिताएको थिएँ, त्यसपछि एकप्रकारले चेतनाशून्य नै भएको थिएँ । किशोर वयले विशृंखल सूचनाबाट संसारलाई निर्देशित गर्छ । यस हिसाबले किशोरावस्था एकप्रकारको बिजगणितजस्तै झमेला हो । यी गुढंहरूलाई बुझ्न एकखालको विशेष प्रतिभा नै चाहिन्छ, अर्थात् चिजहरू मनमै गुम्साएर राख्दा पनि सहज अनुभव गर्न सक्नेजस्तै क्षमता । यसका लागि सीधा र तार्किक सोच चाहिन्छ अनि राजीखुसी नियमहरू पालना गर्ने तत्परता पनि चाहिन्छ, जुन किशोर–किशोरीमा अधिकतर हुँदैन । 

एक किशोरका रूपमा जब म गणितका बारेमा सोच्थेँ, किन मलाई यो सिक्न लगाइँदै छ भनेर अनुमान लगाउन खोज्थेँ, किनकि वयस्क जीवनमा यसको कुनै उपयोगिता छैन जस्तो लाग्थ्यो । हामीलाई पछि जीवनमा गणित कसरी आवश्यक हुन्छ भनेर बताउन दिइने जवाफ हुन्थ्यो– आयव्यय सन्तुलन राख्न, बजेट निर्माण गर्न आदि । तर, यीमध्ये कुनै पनि काम गर्न तपाईंलाई बिजगणित, ज्यामिति वा क्यालकुलसको आवश्यकता पर्दैन ।

तर यदि मैले संसारमा गणितको साइनो कत्तिको सघन रूपमा गाँसिएको छ भनेर बुझेको भए, भिडभाडयुक्त सडक पार गर्दा होस् वा बल समाउँदा होस् हाम्रा हरेक भावभंगीमा गणितलाई देख्न सकेको भए, चित्रकला अनि दृष्टिकोणमा, वास्तुकला र प्राकृतिक जगत् आदिमा यसको व्यापकता बुझेको भए, सायद मैले यसलाई हाम्रा पुर्खाहरूले हेरेजसरी नै विश्वकै डिजाइनको अभिन्न हिस्साको रूपमा, सायद डिजाइनकै रूपमा हेर्ने थिएँ होला । यदि मलाई संसार गणितसँग अभिन्न रूपले गाँसिएको महसुस हुन्थ्यो भने ममा यसप्रति एकप्रकारको आश्चर्य र उत्साह हुन्थ्यो होला । मैले गणित सिक्ने अभिलाषा राख्थेँ होला ।

पाँच वर्षअघि ६५ वर्षको उमेरमा मैले किशोरावस्थाको गणित अर्थात् बिजगणित, ज्यामिति अनि क्यालकुलस सिक्न सक्छु कि भनेर प्रयास गर्ने निर्णय गरेँ, किनभने मेरो बिजगणित र ज्यामिति कमजोर थियो र क्यालकुलस मैले कहिल्यै सिकेको थिइनँ । मैले राम्रो गर्न त सकिनँ, तर अब एकप्रकारले गणितको प्रचारक भने भएको छु । 

गणितलाई अहिले म महत्वपूर्ण ठान्छु, किनकि यसले विश्वलाई विस्तार गर्छ । गणित ठूला रहस्यहरूको प्रवेश बिन्दु हो । यसले सम्मान सिकाउँछ । यसले आश्चर्यलाई ग्रहण गर्नमा जोड दिन्छ । गणितले एकाग्रताको माग गर्छ, समस्यालाई ध्यानपूर्वक मनन गर्न सिकाउँछ,  विशृृंखलित एवं सतही सोचलाई निरुत्साहित गर्छ अनि सुव्यवस्थित चिन्तनलाई प्रोत्साहित गर्छ । 

नम्बर (अंकहरू) परिमाण वा एकाइको मापनका रूपमा सुरु भए र भौतिक संसारको सबैभन्दा सटीक अभिव्यक्तिको साधन (माध्यम)का रूपमा विकसित भए, जस्तो कि ई इक्वयल टु एमसी स्क्वायर ।

तार्किक रूपमा सोच्न र सिक्न अब्राहम लिंकन गणितको पुस्तक ‘युक्लिड’ पढ्न एक वर्ष लगाएको बताउँथे । किशोरावस्थाको गणित (बिजगणित, ज्यामिति अनि क्यालकुलस)को अभ्यास गर्नु भनेको प्राचीन समयदेखि छोडिएका पदचिह्नहरूको भूगोल हुँदै हिँड्नु जस्तो हो । यसका केही पदमार्ग (ट्रेल) लब्ध प्रतिष्ठित व्यक्तित्वहरूले बनाएका छन्, तर अधिकांशचाहिँ मजस्तै साधारण मानिसले छोडेका हुन् । एक किशोरको रूपमा मधुरो प्रकाशमा त्यो पदचाप पछ्याउने प्रयास गर्दा मैले कुनै रहस्यहरूको साक्षात्कार गरेको थिइनँ, तर गणितको दोस्रो परिभ्रमणमा (जुन मैले ६५ वर्षको उमेरमा थालेँ) मैले रहस्यहरूलाई देख्न सुरु गरेँ ।

गणितमा केही पनि परिवर्तन भएको थिइन, तर मचाहिँ परिवर्तन भएको थिएँ । म त्यो व्यक्ति बनिसकेको थिएँ, जसलाई मैले किशोरावस्थामा कल्पना पनि गर्न सक्ने थिइनँ । गणित फरक भएको थियो, किनकि म फरक भएको थिएँ । प्रारम्भिक गणित रहस्य (जुन जोकोहीलाई पनि उपलब्ध छ) संख्याको उत्पत्तिसँग सम्बन्धित छ । यसको एउटा सामान्य अनुकल्पना यस्तो छ– नम्बर कहाँबाट आउँछन् ? कसैलाई थाहा छैन । के नम्बरलाई मानव जातिले आविष्कार गरेका हुन् ? भन्न कठिन छ । ती संसारमा यसरी गाँसिएका देखिन्छन्, जसलाई हामी पूर्ण रूपमा बुझ्नै सक्दैनौँ । नम्बर (अंकहरू) परिमाण वा एकाइको मापनको रूपमा सुरु भएर भौतिक संसारको सबैभन्दा सटिक अभिव्यक्तिको साधन (माध्यम)को रूपमा विकसित भए, जस्तो कि ई इजइक्वयल टु एमसी स्क्वायर । 

गणितको दोस्रो रहस्य अभाज्य (प्राइम) नम्बरहरू हुन् । २, ३, ५, ७, ११ र १३ जस्ता नम्बरहरू, जसलाई कि त एकले कि त आफँैले मात्र भाग लगाउन सक्छ । अभाज्यबाहेकका अरू सबै नम्बरलाई मिश्रित नम्बर (कम्पोजिट नम्बर) भनिन्छ र सबै मिश्रित संख्या अभाज्य अर्थात् प्राइमहरूकै अद्वितीय विन्यासका नतिजा हुन् ः जस्तो कि २×२=४, २×३=६, २×२×२=८, ३×३=९, २×३×३×३७=६६६ । यदि मानिसले संख्या र गणना आविष्कार गरेका हुन् भने यहाँ अविभाज्य जस्ता संख्याहरू कसरी भए (यिनका विशेषताहरू कसैले आरोपित गरिदिएका होइनन्) ? गणित मानिसद्वारा रचिएको हो वा वास्तविक जगत्सँग सन्निकटस्थ कसैले निर्दिष्ट गर्न नसक्ने क्षेत्रमा हामीबाट स्वतन्त्र रूपले अस्तित्वमा छ भन्ने प्रश्न नै गणितको सबैभन्दा ठूलो र उल्झनपूर्ण रहस्य हो । प्लेटोले यसलाई गैरस्थानिक (स्प्योसियोटेम्पोरल) क्षेत्र भनेका छन् । यो कालातीत र स्थानातीत पनि छ, जुन कहिल्यै कहीँ थिएन र हुने पनि छैन, तर पनि त्यो छ ।

अहिले हामीले देख्न सक्ने वा कल्पना गर्न सक्ने सबै कुराको पछाडि के छ भनेर त्यस महान् रहस्यमा पुग्ने सबैभन्दा प्रभावकारी साधान भनेकै गणित हो । गणितले रहस्यतर्फ जति औँल्याउँछ, त्यतिको वर्णन भने गर्दैन । दोस्रोपटकको गणित अध्ययनमा गणितको परिभाषासँग जब–जब मेरो जम्काभेट भयो, मैले त्यसलाई लेखेर राखेँ । तीमध्ये मलाई सबैभन्दा बढी मन परेको एउटा परिभाषा यस्तो छ– गणित एउटा यस्तो कथा हो, जुन हजारौँ वर्षदेखि लेखिँदै आएको छ र यसमा सधैँ थपिइएको छ, यो कथा लेखेर कहिल्यै समाप्त नहुन पनि सक्छ । यस्तो सोचले एक किशोरका रूपमा मलाई गहन रूपले आकर्षित गर्न सक्थ्यो । हुन सक्छ, स्वागतयोग्य नलागे पनि कमसेकम यो(गणित) जति विरत्तपूर्ण लागेको थियो, उति विरत्त भने पक्कै लाग्ने थिएन ।
न्युयोर्क टाइम्स (विल्किन्सन ‘अ डिभाइन ल्याङ्ग्वेज : लर्निङ अल्जेब्रा, जिओमेट्री एन्ड क्यालकुलस एट दी एज अफ ओल्ड एज’का लेखक हुन् ।)

सुझावित समाचार