१० असोज घटस्थापनाको दिनबाट दसैँले हाम्रो घरआँगन टेक्नेछ । दसैँमा नवदुर्गाको उपसना गर्ने, राम्रो लगाउने र मीठो खाने अनि आफ्ना मान्यजनका हातबाट टीका–आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ । दसौँ दिन विजयादशमी पर्वको विजय साइतमा दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाइन्छ । नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले नवरात्र (घटस्थापना) देखि कोजाग्रत पूर्णिमासम्मको शुभसाइत सार्वजनिक गरिसकेको छ ।
विजयको टीका : नौ दिनसम्म देवीको उपासना गरेपछि दसौँ दिनमा दुर्गा माताले दैत्य राक्षसहरूको अन्त्य गरेको दिनको सम्झनामा देवी विसर्जन गरी विजय उत्सवका रूपमा टीका र जमरा लगाइन्छ । नवरात्रभर दुर्गा सप्तसती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ गरिन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
कुन देशमा कति बजे लगाउने टीका ? : अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, स्विट्जरल्यान्डमा ४ अक्टोबरमा टीकाको शुभसाइत जुरेको छ । अमेरिकाको न्युयोर्कमा बिहान ११ः११ मा, वासिङटन डिसीमा बिहान ११:२५ मा, केन्टुकीमा बिहान ११:५५ मा, टेक्सासमा बिहान ११:३५ मा, क्यालिफोर्नियामा बिहान ११:४५ मा टीकाको शुभसाइत जुरेको छ । क्यानडाको टोरन्टोमा बिहान ११:३९ मा, भ्यान्कोभरमा बिहान ११:४५ मिनेटमा, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ मा, बेलायतको लन्डनमा बिहान ११:५७ मा, फ्रान्सको पेरिसमा बिहान ११:५५ मा, नर्वेको ओस्लोमा बिहान ११:२५ मा, इजरायलको तेलअभिभमा बिहान १०:२७ मा तथा स्विट्जरल्यान्डको जेनेभामा बिहान ९:५५ मा शुभसाइत जुरेको छ ।
त्यसैगरी ५ अक्टोबरमा जापानको टोकियोमा बिहान १०:३९ मिनेटमा, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१ मिनेटमा, मेलबर्नमा बिहान १०:५५ मा, ब्रिसबनमा बिहान ११:०५ मा, न्युजिल्यान्डको वेलिङटनमा बिहान १०:५७ मा, मलेसियाको क्वालालम्पुरमा बिहान १०:२५ मा, युएईको अबुधाबीमा बिहान ९:०१ मा, कतारको दोहामा बिहान ८:१५ मा, थाइल्यान्डको बैंककमा बिहान १०:२१ मा, दक्षिण कोरियाको सियोलमा बिहान १०:५१ मा, सिंगापुरमा बिहान ११:२७ मा, हङकङमा बिहान १०:५५ मा, साउदी अरेबियामा बिहान ९:५५ मा, म्यानमारको यांगुनमा बिहान ९:५५ मा दसैँको टीकाको साइत जुरेको छ ।