निर्वाचनमा भाग लिनु जनतालाई दुःख दिनु हो - सिपी गजुरेल

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

विभिन्न ४ कम्युनिस्ट दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरूमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्। 

उनीहरूले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए। 

पत्रकार सम्मेलनमा बोल्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नागरिकता विधेयकको विरोध गर्नेहरूले नागरिकले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताए। 

उनले मधेसमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेसमा नागरिकता पाउने खास जाति र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गरे। 

उनले भूमिहीन सुकुमबासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने माग राखे। उनले नागरिकता वितरण गर्ने काम सबैभन्दा धेरै मधेसमा हुनुपर्ने बताए। गजुरेलले नागरिकताको  विषयलाई सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले राजनीति गरेको बताउनुभयो। उनले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुवीकरणको सम्भावना रहेको बताए। 
 

सुझावित समाचार