चिकित्सा क्षेत्र सुधारको मागसहित १० दिनदेखि धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं जाने भएका छन्।
डा. केसीका सहयोगीका अनुसार आज बेलुकी पौने ५ बजे श्री एयरलाइन्सको नियमित उडानबाट काठमाडौं जान उनले टिकट काटेका छन्।
उनीसँगै दुईजना चिकित्सक र दुईजना आफन्त काठमाडौं जाने तयारी रहेको डा. केसीका सहयोगी डा. अमृत जैसीले बताए।
स्वास्थ्यमा जटिलता बढ्न थालेपछि उनी काठमाडौं जान तयार भएको जैसीले बताए। ‘स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेका छन् । थप जटिल समस्या आउनसक्ने भएपछि उहाँ काठमाडौं जान तयार हुनुभएको हो’ जैसीले भने, ‘आजै बेलुकाको फ्लाइटमा टिकट काटिएको छ।’
यसअघि सरकारले मंगलबार डा. केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो। त्यसका लागि सरकारले नेपाली सेनाको स्काई ट्रक धनगढी पठाएको थियो, तर केसीले काठमाडौं जान अस्वीकार गरेका थिए।
चिकित्सा तथा स्वास्थ्य क्षेत्र सुधारसँग सम्बन्धित माग गर्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा अनशन सुरु गरेका थिए। अनशन बसेको तेस्रो दिनमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो।