राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले राष्ट्रपतिको कदमलाई संविधान असफल बनाउने षड्यन्त्रको संज्ञा दिएका छन् । राष्ट्रपतिले मध्यरातसम्मको समयसीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो प्रतिक्रिया जनाउँदै विश्लेषक वाग्लेले राष्ट्रपतिको कदमलाई संविधान असफल बनाउने षड्यन्त्रको संज्ञा दिएका हुन् ।
राष्ट्रपतिले दोस्रोपटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको उनको टिप्पणी छ । ‘सार्वभौम संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो,’ वाग्लेले भनेका छन् ।
संघीय संसद्ले दोस्रोपटक पठाएको नागरिकता विधेयक संविधानमा गरिएको व्यवस्थाअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको आलोचना भइरहेको छ ।
सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ!
— Geja Sharma Wagle (@GejaWagle) September 21, 2022
यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो! pic.twitter.com/siBSUenOWz