काठमाडौंको गोठाटारमा संसाँझै गार्मेन्ट व्यवसायीको हत्या भएको छ । सोमबार साँझ सर्लाही हरिवन नगरापलिका–२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको हो ।
शरीरका विभिन्न अंगमा चारवटा गोली लागेका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
गोठाटारस्थित व्यस्त सडकमा बा. ६च ५१५२ नम्बरको कारबाट निस्किएका दर्जीमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले एक्कासी गोली प्रहार गरेका थिए । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी लखेटी गोली प्रहार गरेका थिए ।
परिवारका सदस्यले देखेर प्रतिवाद गर्न खोजेपछि आक्रमणकारी पेस्तोल त्यहीँ छाडेर भागेका थिए । तत्काल उपचारका लागि शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार दर्जी सोमबार साँझ चाबहिलबाट साथी रामप्रसाद गौतमसँगै गोठाटारस्थित आफ्नो गार्मेन्ट फ्याक्ट्री फर्किएका थिए । उनकोे गाडी जब गार्मेन्ट सामुन्नेको सडकमा रोकियो, उनी ढोका खोलेर ओर्लिए ।
त्यहीबेला उनीमाथि अपरिचित आक्रमणकारीले गोली चलाए । तर, फायर ‘मिस’ हुन पुग्यो । आत्तिएका उनी गाडीको आड लिएर भाग्न थाले । तर, आक्रमणकारीले पिछा गरिरहे । गाडीको चक्कर लगााउने क्रममा आक्रमणकारीले दर्जीको घुँडामा फायर गरे । चोटका कारण उनी त्यहीँ ढले । आक्रमणकारीले टाउको र छातीमा सटाएर अर्को फायर खोले । त्यहीबेला दर्जीका परिवारका सदस्य आएपछि आक्रमणकारी मोटरसाइकल चढेर फरार भए ।
गोलीकाण्डपछि उपत्यकाका नाकामा सुरक्षा कडाइ
गोली प्रहारलगत्तै घटनास्थल पुगेका प्रहरीले आसपासको सुरक्षा अवस्था कडा बनाएको छ । आक्रमणकारी भाग्न सक्ने सबै नाकामा प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ ।
उपत्यका बाहिरिने सबै नाकामा चेकजाँच कडा बनाइएको काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । घटनास्थल आसपास तथा आक्रमणकारी भाग्न सक्ने सडकका सबै सिसिक्यामेरा फुटेज विश्लेषणमा प्रहरी जुटेको छ ।
‘गोली प्रहारपछि आवश्यक प्रमाण संकलनमा प्रहरी जुटेको छ । आक्रमणकारी पक्राउ गर्न प्रहरीले सबै शक्ति प्रयोग गरेको छ,’ मैनालीले भने ।