राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि तयार पारिएको ट्रफी सार्वजनिक गरेका छन् । ट्रफी सार्वजनिकपछि प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए । ‘खेलकुदले गति लिँदै छ, यसका लागि सरकारको सहयोग सधैँ रहनेछ,’ प्रधानमन्त्री देउवाले भने ।
पाँच केजी चाँदीको ट्रफीमा दुई तोला सुनले कुँदिएको काठको बेसमा बनाइएको छ । ट्रफी १० लाख मूल्यबराबर रहेकोे छ । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले पहिलोपटक रनिङ ट्रफी च्याम्पियन टोलीलाई प्रदान गर्न लागेको जनाएको छ । ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ हुन् । ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् ।
ट्रफी निर्माण गर्न पाँचजना कालीगडले दैनिक १८ घन्टाका दरले २५ दिनको समय तयार पारेका हुन् । ट्रफी पूर्ण कलशको स्वरूपमा रहेको छ । नेपाली संस्कृतिअनुरूप कुनै पनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पूजापछि मात्र कार्य शुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । ट्रफी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइनेछ ।