संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनमा रस्साकस्सी

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकको प्रस्तावित मस्यौदामै सहमति जुट्न नसकेपछि कानुन संशोधनको सम्भावना साँघुरिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिन तीन दिन मात्र बाँकी रहँदा दलहरूको अडानले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन अन्योलमा परेको हो । 

प्रतिनिधिसभाको विषयगत समितिमै विधेयक अल्झिएपछि १ असोजसम्म मानिएको कार्यकालमा कानुन निर्माणको बाँकी प्रक्रिया पूरा नहुने देखिएको हो । माओवादी र प्रतिपक्षी एमालेको मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा विवाद देखिएको छ । नेपालको शान्ति प्रक्रिया टुंग्याउन यो महत्वपूर्ण कानुन हो । 

संक्रमणकालीन न्याय टुंग्याउन सरकारले ३१ असारमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न विधेयक ल्याएको थियो । ७ भदौमा पेस भएको विधेयकमा १३ भदौमा सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले १७ भदौमा कानुन, न्याय तथा मानव अधिकार समितिमा पठाएको थियो ।

२१ भदौबाट छलफल थालेको समितिले २९ गते (बुधबार)सम्म विधेयकलाई पीडितमैत्री बनाउने गरी संशोधनमा सहमतिको प्रयास गरेको थियो । तर, माओवादी र प्रतिपक्षी एमालेको मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा आ–आफ्नै अडानले विधेयक सर्वसम्मत बन्न सकेन, त्यसकारण बुधबार प्रतिनिधिसभा बैठकमा पेस हुन पाएन । 

समितिले २२ भदौमा संशोधनकर्ता, २३ भदौमा देशभरका ४३ द्वन्द्वपीडित र २५ भदौमा विज्ञ बोलाएर छलफल गरी विधेयकमा केही संशोधन प्रस्ताव गरेको छ । सभापति कृष्णभक्त पोखरेलले आएका सुझाव समेटेर २७ भदौको बैठकमा राखेको प्रस्तावमा हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनमा राखिएको छ । त्यस्तै सत्य निरुपण मेलमिलाप आयोगको पदावधि दुई वर्ष प्रस्ताव गरिएको छ । 

बालसेना र बहिर्गमित लडाकु पनि समेटिएको छ । मुद्दा चलाउने–नचलाउने आधार र कारण खुलाउनुपर्ने उल्लेख छ । मुद्दाको हदम्यादको हकमा आयोगबाट सिफारिस भएको मितिले ६ महिनाभित्र विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने उल्लेख छ । त्यस्तै न्यायपरिषद्को सिफारिसमा एक महिलासहित तीन सदस्यीय विशेष अदालत उल्लेख गरिएको छ । विशेष अदालतको फैसलाउपर ३५ दिनभित्र सर्वाेच्चमा पुनरावेदन दिन पाउने प्रावधान राखिएको छ । घटी सजाय निर्धारण गर्नुपर्नेको सट्टा गर्न सक्ने राखिएको छ । 

त्यस्तै, आयोगमा विशेष इकाइ रहने बुँदा विधेयकमा थप्न प्रस्ताव गरिएको छ । आयोगका कामकारबाहीलाई व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यकताअनुसार सत्यको खोजी, परिपूरण तथा अनुसन्धानलगायतका विशेष इकाइ रहने उल्लेख गरिएको छ । समिति सभापति पोखरेलले हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनमा राखेर संशोधन प्रतिवेदन प्रस्ताव गरेपछि सहमति नभएको बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले ल्याएको विधेयकमा हत्यालाई मानव अधिकार उल्लंघनमा राखिएको छ । क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेकोलाई गम्भीर उल्लंघनमा राखिएको छ । तर, समितिले सरोकारवाला पक्षबाट आएको सुझावका आधारमा सबै हत्यालाई गम्भीर उल्लंघनमा राखेपछि विधेयक अगाडि बढ्न नसकेको हो । 

२७ भदौको बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले यो मान्य नहुने र स्वेच्छाचारी हत्यालाई मात्रै गम्भीरको सूचीमा राख्नुपर्ने अडान लिएपछि बुधबार बिहान शीर्ष तहको उपस्थितिमा बैठक बसेको थियो । समितिमा पहिलोपटक उपस्थित माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अहिले यसमा निर्मम हत्या, क्रूर हत्या वा स्वेच्छाचारी हत्या जे लेखे पनि भोलि शक्तिसन्तुलनअनुसार कार्यान्वयन हुने देख्छु । हामी नै दुई–चार वर्ष शक्तिमा हुन्छौँ । यसको व्याख्या र लागू गर्ने ठाउँमा हामीले देखाउने स्पिरिटले हो । शब्द जे राखे पनि परिणाम हुने त्यही हो । अदालतको फैसलामा पनि हामीले यो देखेका छौँ । यसमा सडक, अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारले राखेको चासोलाई पनि कुनै शब्दद्वारा सम्बोधन गर्न कोसिस गरौँ । सबैलाई मान्य हुने शब्द खोजौँ । स्वेच्छाचारी हत्या (आर्बेटरी किलिङ) अन्तर्राष्ट्रिय रूपमा रिकग्नाइज शब्द हो । यस्तै केही शब्द राखेर मिलाऊँ ।’

मुद्दाको पुनरावेदनमा जान पाउने विषयमा पनि प्रचण्डले भाषा मिलाएर पुनरावेदन राख्न सकिने भन्दै सहमति जनाएका थिए । विस्तृत शान्ति सम्झौता राजनीतिक सहमतिका आधार भन्दै अल्पमत र बहुमत विधिबाट जाँदा देशको समग्र राजनीति र शान्ति, स्थायित्व, विकास र समृद्धिका लागि पनि दुर्भाग्य हुने उनको भनाइ थियो । उनले सहमति गरेर गए सकारात्मक सन्देश जाने भन्दै अपिल गरेका थिए । 

एमाले उपाध्यक्ष सुवास नेम्वाङले विधेयक संक्रमणकालीन न्यायको सिद्धान्तमा आएकाले सबैलाई शिरदेखि पाउसम्म कारबाही गर्छु भन्ने सिद्धान्त राखिए भाँडिने बताए । तर, कतिसम्म गर्ने भन्नेमा एक बिन्दुमा सहमतिमा पुग्नुपर्ने उनले भने, ‘केहीको हकमा मेलमिलाप, केहीको हकमा साह्रै थोरै मुद्दा चल्छ, त्यो पनि संक्रमणकालीन कानुनअनुसार हुन्छ । यसरी शान्ति प्रक्रिया टुंग्याऊँ ।’

एमाले र माओवादीको अडान रहेको गम्भीर उल्लंघनको परिभाषामा सहमति जुटाउन शीर्ष तहको बैठकपछि समितिले देव गुरुङ, वर्षमान पुन, मीन विश्वकर्मा, अतहर कमाल मुसलमान, शेरबहादुर तामाङ र बिमला विक सदस्य राखेर कार्यदल गठन गरेको थियो । कार्यदलले पनि सहमति जुटाउन नसक्दा ४ बजे बोलाइएको समितिको बैठक पनि स्थगित भयो ।

समिति सभापति पोखरेलले गम्भीर प्रकारको मानव अधिकार उल्लंघनमा स्वेच्छाचारी हत्या राख्नुपर्ने माओवादी पोजिसन र सबै हत्या स्वेच्छाचारी हुने र गम्भीर उल्लंघनमा राख्नुपर्ने एमालेको अडानका कारण सहमति जुट्न नसकेको बताए । ‘सहमति नजुटेपछि मैले मन्त्रीजी तयार हो भने बहुमतीय पद्धतिबाट अगाडि बढाउँछु भन्ने प्रस्ताव राखेँ । तर, मन्त्रीजीले राष्ट्रको साझा विधेयक भएकाले अल्पमत–बहुमत नभई सर्वसम्मत नभएसम्म अगाडि नबढाउने भनेपछि बैठक स्थगित भयो,’ उनले भने । रातभरमा सहमति भए बिहीबार बिहान बैठक राखेर विधेयकलाई अगाडि बढाउन आफू तयार रहेको उनको भनाइ छ । 

समितिमा एमालेकी सदस्य विमला विकले सहमति नबनेको, अल्पमत र बहुमतबाट नजाने भनेकाले विधेयक यो कार्यकालमा आउने सम्भावना नरहेको बताइन् । कांग्रेसबाट सदस्य रहेका विश्वकर्माले सहमति नजुटेको शीर्ष तहमा जानकारी गराएको र शीर्ष तहबाटै सहमति खोजेर विधेयक अगाडि बढ्ने बताए । सदस्य मुसलमानले एमालेको व्यवहार नागरिकता विधेयकजस्तै अगाडि नबढोस् भन्ने देखिएको बताए । माओवादी नेता शक्ति बस्नेतले बिहीबार बिहानसम्म एउटा टुंगोमा पुग्ने र दिउँसोको संसद् बैठकमा पेस हुने विश्वास व्यक्त गरे । 
 
 

सुझावित समाचार