सहकारीको नेतृत्व विकास गर्न संस्थागत विकास तालिम

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

सञ्चालकहरूको क्षमता विकासका निम्ति तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चारदिने संस्थागत विकास तालिम सञ्चालन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को प्राविधिक सहयोगमा तरकारी फलफूल साकोसले संस्थागत तालिम दिएको हो । 

सहकारी संस्था सञ्चालनमा सञ्चालकहरूको क्षमता विकास, कार्यालय सञ्चालन व्यवस्था, सुशासन, बित्तीय विश्लेषण, संस्थाको मिसन, भिजनसहितको रणनीतिक योजना निर्माणजस्ता विषयमा तालिममा प्रशिक्षण दिइएको सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले जानकारी दिए । 

नेफ्स्कुनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । सहकारीका सचिव हरिकृष्ण धेकेका अनुसार तालिममा सञ्चालक समिति, लेखा सुपरीक्षण समिति र विभिन्न उपसमितिका पदाधिकारी सदस्यहरू, सल्लाहकार र कर्मचारी गरी २० प्रशिक्षार्थी सहभागी थिए ।

२५ देखि २८ भदौसम्म भक्तपुरको नगरकोटमा सञ्चालित तालिममा २८ बुँदे कार्ययोजना पनि तय गरेको छ । व्यवस्थापक विमला पुडासैनीका अनुसार सञ्चालक समितिको आगामी बैठकबाट कार्ययोजना पारित गरी क्यालेन्डर तयार पारिनेछ । 

सहकारी संस्थालाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न तालिम बहुउपयोगी भएको सञ्चालक समिति सदस्य तथा ऋण उपसमितिका संयोजक राजनप्रसाद पराजुलीले जानकारी दिए । 

तालिम समापनको क्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार उज्वल कार्की, भगवानचन्द्र उप्रेती र भरतप्रसाद खतिवडा पनि सहभागी रहेका थिए । 

सुझावित समाचार