पेट्रोलियम व्यवसायीकाे हडताल फिर्ता

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

भाडादर वृद्धि गर्ने सहमति भएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ। आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि महासंघले आन्दोलन फिर्ता लिएको हो। 

व्यवसायीले ढुवानी भाडादर वृद्धिको माग गर्दै २४ भदौबाट हडताल सुरु गरेका थिए। उनीहरूले बुधबारबाट आन्तरिक ढुवानी बन्द गरी १ असोजबाट देशभर इन्धन आपूर्ति ठप्प पार्ने घोषणा गरेका थिए। 

मन्त्रालयमा दुई पक्षबीच आज भएको छलफलमा ७ साउनसम्ममा सञ्चालक समितिबाट निर्णय गराई ढुवानी भाडा वृद्धि गर्ने सहमति भएको छ। व्यवसायीले हडताल फिर्ता लिएपछि बिहीबारबाट देशभर तेल लोड–अनलोड सहज हुने भएको छ।

आयल निगमको सञ्चालक समिति बैठकमा वार्षिक ४४ करोड रुपैयाँ व्ययभार थपिने गरी भाडादर वृद्धि गर्ने प्रस्ताव करिब एक वर्षदेखि विचाराधीन छ। १० अर्ब रुपैयाँ ऋण र २३ अर्ब रुपैयाँ बक्यौता बोकेर बसेको निगमलाई थप आर्थिक भार दिन नहुने भन्दै सञ्चालक समितिका बहुमत सदस्यले ढुवानी भाडादर वृद्धि गर्न असहमति राख्दै आएका छन्।
 

सुझावित समाचार