प्रेरक प्रसंग : एक मिनेट पर्ख है त !

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

एकजना भक्त ईश्वरसित साक्षात्कार गर्न र उनलाई केही प्रश्न सोध्न चाहन्थे । त्यसैले, उनी ईश्वरको खोजीमा निस्किए । ईश्वर खोज्दै जाँदा उनी एउटा अग्लो पहाडको टुप्पामा पुगे । 

उनले त्यहाँ साँच्चै ईश्वरको दर्शन पाए । ईश्वरको दर्शन पाउँदा उनी हर्षविभोर भए । ईश्वरले उनी त्यसरी त्यहाँसम्म आउनुको कारण जान्न चाहे । भक्तले आफू ईश्वरको दर्शनका लागि र केही प्रश्न सोध्न त्यहाँसम्म पुगेको बताए । भक्तले ईश्वरसित केही प्रश्न सोध्ने अनुमति मागे ।

ईश्वरले भक्तलाई प्रश्न सोध्ने अनुमति दिए । भक्तले पहिलो प्रश्न सोधे– प्रभु ! हजुरका लागि सय वर्षको अवधि के हो ? ईश्वरले जवाफ दिए– मात्र एक मिनेट । भक्तले एकछिन सोचे र पुनः अर्को प्रश्न सोधे– हजुरका लागि एक करोड रुपैयाँ के हो ? ईश्वरले तत्कालै जवाफ दिए– मात्र एक रुपैयाँ । 

ईश्वरको जवाफ सुनिसकेपछि भक्तले दायाँबायाँ हेरे, केहीबेर मौन रहे र भने– प्रभु ! म हजुरबाट मात्र एक रुपैयाँको आशा राखेर यहाँसम्म आएको छु । भक्तको कुरा सुनेर ईश्वर मुसुक्क मुस्कुराए र भने– हुन्छ । त्यसका लागि एक मिनेट पर्ख है त ! सक्छौ नि पर्खिन ?

सुझावित समाचार